विनयी खोलामा पक्की पुल निर्माण सकियो, डाइभर्सनको भर हट्यो

पूर्वी नवलपरासीको दुम्कीवासस्थित विनयी खोलामा दुई वर्षअघि भाच्चिएको फलामे पुलको छेउमा २४५ मिटर लामो पक्की पुल निर्माण सम्पन्न भएको छ ।

वैशाख ३, २०८३

नारायण शर्मा

Construction of concrete bridge over Binayi River completed, no more need for diversion

नवलपरासी — बिस्तारको क्रममा रहेको महेन्द्र राजमार्ग अन्तरगत नारायणगढ-बुटवल खण्डको पूर्वी नवलपरासीमा पर्ने विनयी खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ ।

दुई वर्षअघि भाच्चिएको पूर्वी नवलपरासीको दुम्कीवासस्थित विनयी खोलामा नयाँ पुल निर्माण सम्पन्न भएको हो । नारायणगढ-बुटवल सडक निर्माण आयोजना पूर्वी खण्डका प्रमुख ईश्वरबहादुर रिजालका अनुसार २ सय ४५ मिटर लामो पुल निर्माणको काम बिहीबार सकिएको हो । यो पुलबाट शुक्रबारदेखि यातायात संचालन हुने भएको छ ।

सडक बिस्तार अन्तरगत पक्की पुल निर्माणकै क्रममा रहेका बेला छेउमा रहेकाे फलामे पुल भाच्चिएपछि डाइभर्सनका भरमा यातायात स‌ंचालन हुँदै आएको थियो । विनयी खोलादेखि उत्तरतर्फ निर्माण गरिएको अस्थायी डाइभर्सन सडकबाट महेन्द्र राजमार्ग हुँदै पूर्वपश्चिम हिँडेका यातायातका साधन आउजाउ भइरहेका छन् ।

शुक्रबारबाट नयाँ पक्की पुलबाट यातायात संचालन हुने सडक आयोजनाको पूर्वी खण्ड प्रमुख रिजालले जानकारी दिए । नयाँ पुल संचालनमा आएपछि वर्षादमा विनयी खोलमा आउने बाढीका कारण यातायात रोकिन पर्ने अवस्थाको अन्त्य हुने छ ।

विनयी खोलामा यसअघि रहेको फलामे पुल भाच्चिएको करिब २ वर्षपछि त्यसैको छेवैमा पक्की पुल निर्माण भएको हो । २ सय ४५ मिटर लामो यो जिल्लाकै सबैभन्दा लामो पुल हो । दुई वर्षअघि भाच्चिएको विनयी खोलाको फलामे पुल हटाउनेतर्फ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगत पुल महाशाखाले चासो देखाएको छैन । 

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully