गण्डकीमा मन्त्रिपरिषद् हेरफेर : ८ नयाँ मन्त्रीले लिए शपथ

नवनियुक्त ८ मन्त्रीले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

वैशाख २, २०८३

दीपक परियार

Cabinet reshuffle in Gandaki: 8 new ministers take oath

पोखरा — गण्डकी प्रदेश सरकारमा बुधबार मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त ८ मन्त्रीले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । सत्ता गठबन्धनमा रहेका एमाले र कांग्रेसबाट ४–४ जना मन्त्रीले शपथ लिएसँगै मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ ।

एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बनेका छन् । यशोदा रिमाल उद्योग तथा पर्यटन, भीम कार्की कृषि, भूमि व्यवस्था तथा सहकारी र लक्ष्मण पाण्डे स्वास्थ्य मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा प्रदेश प्रमुखले उनीहरूलाई नियुक्त गर्दै शपथ गराएका हुन् ।

कांग्रेसबाट जित शेरचन अर्थ मन्त्री बनेका छन् । नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी, रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद तथा नम्डु गुरुङ वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् ।

यसअघि कृषि मन्त्रालय पद्मा जिसी, स्वास्थ्य मन्त्रालय कृष्ण पाठक, भौतिक पूर्वाधार मन्त्रालय प्रकाश केसी र उद्योग तथा पर्यटन मन्त्रालय मित्रलाल बस्यालले सम्हाल्दै आएका थिए । त्यस्तै अर्थमा डा. टकराज गुरुङ, सामाजिक विकासमा विन्दुकुमार थापा र वन तथा वातावरणमा भेषबहादुर पौडेल मन्त्री थिए । ऊर्जा मन्त्रालय भने मुख्यमन्त्री पाण्डे स्वयंले हेर्दै आएका थिए ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully