बागलुङ क्षेत्र नम्बर २ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य द्रोणकुमार कुँवरले मन्त्री बन्न नपाएकोमा असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन् ।
पोखरा — गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तारसँगै सत्तारूढ दलभित्र असन्तुष्टि पनि सतहमा आएको छ । कांग्रेसबाट बागलुङ क्षेत्र नम्बर २ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य द्रोणकुमार कुँवरले मन्त्री नपाएकोमा असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन् । उनले बुधबार सभामुख कृष्णप्रसाद धिताललाई इमेलमार्फत राजीनामा पठाएका हुन् ।
सभामुख धितालले राजीनामा प्राप्त भएको पुष्टि गर्दै आफू काठमाडौंमा रहेकाले पोखरा फर्किएपछि यसबारे निर्णय लिने बताएका छन् । 'माननीयज्यूले इमेलमार्फत राजीनामा पठाउनुभएको छ, फर्किएपछि छलफल गरेर निर्णय लिन्छु,' उनले भने ।
धिताल काठमाडौंमै रहेकाले मन्त्रिपरिषद् विस्तार तथा शपथ कार्यक्रममा सहभागी हुन सकेनन् । 'म हिजो नै काठमाडौं आएको थिएँ । बिहान मात्रै शपथको जानकारी आयो, त्यसैले सहभागी हुन सकिनँ,' उनले बताए ।
प्रदेशसभा नियमावली २०८० अनुसार कुनै सदस्यले सभामुखलाई सम्बोधन गरी लिखित राजीनामा दिएर त्यसको जानकारी सभालाई गराइएपछि पद रिक्त हुने व्यवस्था छ । साथै, बिनासूचना लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित भएमा, दल त्याग गरेमा वा निष्कासन भएमा पनि पद रिक्त हुने प्रावधान रहेको छ । संविधानको धारा १८० अनुसार मृत्यु, अयोग्यता वा पदावधि समाप्त भएमा पनि सदस्यको पद रिक्त हुने व्यवस्था छ ।
