३७ वर्षीय कुश गुरुङको मृत्यु
लमजुङ — मनाङको नासोँ गाउँपालिका–३ अन्तर्गत धारापानी र दानक्यु बीच बेंसीसहर–चामे सडकखण्डमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लमजुङ सुन्दरबजार नगरपालिका घर भई हाल लमजुङकै मर्स्याङ्दी गाउँपालिका–९, सिम्पानी बगैँचामा बस्दै आएका ३७ वर्षीय कुश गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डीएसपी हरिप्रसाद पौडेलका अनुसार मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाका लागि सिमेन्ट बोकेर बेंसीसहरबाट कोतोतर्फ जाँदै गरेको बा.प्र. ०६००१ क ०४६१ नम्बरको ट्रक मंगलबार बिहान करिब १०:३० बजे सडकबाट खसेर दुर्घटनामा परेको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि बेंसीसहरस्थित प्रदेश अस्पताल लमजुङ ल्याइएको थियो। उपचारकै क्रममा दिउँसो करिब २ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
प्रहरीका अनुसार ट्रक सडकबाट अन्दाजी ५० देखि ६० मिटर तल खसेको थियो। चालकको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल लमजुङमा राखिएको छ ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
