तनहुँका दुई पालिकामा वैसाख २ बाट विद्यार्थी भर्ना, नियमित पठनपाठन सुरु गर्ने

आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकाले नयाँ शैक्षिक सत्रका लागि वैसाख २ बाट भर्ना अभियान सञ्चालन गर्ने भएका छन्।

वैशाख १, २०८३

सम्झना रसाइली

Student enrollment and regular teaching to begin in two municipalities of Tanahun from Baisakh 20

What you should know

तनहुँ — जिल्लाका दुई स्थानीय तहले बुधबारदेखि नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना अभियान सञ्चालन गर्ने तथा नियमित पठन–पाठन सुचारु गर्ने निर्णय गरेका छन् । आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकाले सोमबार सूचना जारी गर्दै नयाँ शैक्षिक सत्रका लागि वैसाख २ बाट भर्ना अभियान सञ्चालन गर्ने भएका छन्। 

आँबुखैरेनी अन्तरगतका विद्यालयलाई वैसाख २ देखि भर्ना अभियान सुरु गरी सँगै नियमित पठन–पाठन सञ्चालन गर्न निर्देशन दिइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । ‘गाउँपालिकाले आफ्नो शैक्षिक क्यालेन्डर अनुसार सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई समयमै तयारी पूरा गर्न भनिएको छ,’ उनले भने, ‘विद्यालयको शैक्षिक क्यालेन्डर अगाडि नै बनिसकेको छ । विद्यालय सञ्चालन गर्ने दिन २२० दिन पुर्‍याउने तयारी गर्दा १५ दिन पठनपाठनमा ढिलाई र आइतबारको बिदासहित सिंगो वर्षको शैक्षिक सत्र नै अप्ठ्यारोमा पर्ने भयो ।’

पेट्रोलियम पदार्थ अभावले गर्दा खासै समस्या नपर्ने भएकाले विद्यार्थीको शैक्षिक गतिविधिमा धक्का नपुगोस् भनेर यो निर्णय गरेके उनले बताए ।

यस्तै, बन्दीपुर गाउँपालिकाले पनि वैसाख २ देखि ८ सम्म भर्ना र ९ गतेबाट नियमित पठनपाठन गर्न विद्यालयहरुलाई सूचना गरेको छ ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाका अनुसार गाउँपालिकाभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयलाई वैसाख २ देखि ८ सम्म भर्ना अभियान सञ्चालन गर्न, शैक्षिक सत्र २०८३ को कार्ययोजना निर्माण गर्न, वार्षिक कार्यतालिका निर्माण तथा तयारी गर्न, विद्यार्थीको सिकाइ उपलब्धी सुधार सम्बन्धी योजना निर्माण गर्न र वैसाख ९ देखि नियमित पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०८३ को भर्ना अभियान वैसाख १५ बाट सुरु गरी वैसाख २१ बाट पठनपाठन सुरु गर्ने भने पनि आधारभूत तथा माध्यमिक तहसम्म शिक्षाको व्यवस्थापन सम्बन्धी अधिकार स्थानीय तहको भए बमोजिम आफ्नो शैक्षिक क्यालेन्डर अनुसार पठनपाठन सञ्चालन गर्न लागेको दुवै स्थानीय तहले जनाएका छन् ।  

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully