सिरानचोककोट क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लालीगुराँस महोत्सवको आयोजना गरिएको हो ।
गोरखा — प्रथम सिरानचोक लालीगुराँस मेलाअन्तर्गत भएको ‘लालीगुराँस दौड’ प्रतियोगितामा अजय पाण्डे पहिलो भएका छन् । सिरानचोककोट क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लालीगुराँस महोत्सवको आयोजना गरिएको हो ।
सिरानचोकको कार्यालय चित्रेपोखरीबाट सिरानचोककोटस्थित टुँडिखेलसम्मको १० किलोमिटर दूरी पाण्डेले ३७ मिनेट १३ सेकेण्डमा पूरा गर्दै पहिलो बनेका हुन् । प्रतियोगितामा ३७ मिनेट २९ सेकेण्डमा निर्धारित दूरी पार गरेर सनम गुरुङ दोस्रो, ४० मिनेट ११ सेकेण्डमा उक्त दूरी पार गर्दै सरोज गिरी तेस्रो भए । प्रतियोगितामा पहिलोले २० हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरे ।
चैत १६ गतेबाट सुरु भएको महोत्सव पदयात्रा, माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, लालीगुराँसका फोटा र भिडियो प्रतियोगिता, रैथाने कृषि उपजको प्रदर्शनीसहित विविध सांस्कृतिक कार्यक्रम भएको थियो । गाउँपालिकाअन्तर्गत पाँचवटा रुटमा पदयात्रीले लालीगुराँसको अवलोकन गर्दै पदयात्रा गरेका थिए ।
