घलेगाउँमा गायक राजु परियारसहित चार जनालाई सम्मान

स्वर्गभूमि रंगशालामा मंगलबार आयोजित उद्घाटन कार्यक्रममा नेपाली लोकसंगीतको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै गायक राजु परियारलाई क्व्होलासोथार गाउँपालिकाले सम्मान गरेको हो ।

वैशाख १, २०८३

आश गुरुङ

Four people, including singer Raju Pariyar, honored in Ghalegaun

What you should know

लमजुङ — लमजुङको क्व्होलासोथार गाउँपालिका–३ घलेगाउँमा आयोजित नवौं स्मार्ट भिलेज आमन्त्रित गोल्ड कप–२०८३ तथा विविधि सांस्कृतिक कार्यक्रमका अवसरमा लोकगायक राजु परियारसहित चार जनालाई सम्मान गरिएको छ ।

स्वर्गभूमि रंगशालामा मंगलबार आयोजित उद्घाटन कार्यक्रममा नेपाली लोकसंगीतको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै लोक स्वर सम्राटले चिनिएका गायक राजु परियारलाई क्व्होलासोथार गाउँपालिकाले सम्मान गरेको हो ।

पूर्वमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ र उपाध्यक्ष गमीमाया गुरुङले सम्मानपत्र तथा राडी प्रदान गरेका थिए । पर्यटन व्यवस्थापन समिति स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेलगायतले बख्खु ओढाएर सम्मान गरेका थिए । आमा समूहले फेटा र दोसल्ला ओढाएर सम्मान गरे ।

यस्तै, घलेगाउँको पर्यटन प्रवर्द्धनमा सञ्चार माध्यममार्फत योगदान पुर्‍याएको भन्दै घलेगाउँ घर भइ रेडियो मर्स्याङ्दीमा कार्यरत लक्ष्मी घलेलाई पनि सम्मान गरिएको छ । उनलाई पूर्वमन्त्री एवं एमाले उपाध्यक्ष गुरुङ, पर्यटन व्यवस्थापन समिति स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष घले, गाउँपालिका अध्यक्ष गुरुङलगायतले सम्मानपत्र प्रदान गर्नुका साथै पछ्यौरा ओढाएका थिए ।

कार्यक्रममा मर्स्याङ्दी गाउँपालिका–२, घनपोखराका केविन्द्रजङ गुरुङलाई दशथर क्षेत्रमै पहिलोपटक फुटबल प्रतियोगिताको सुरुवात गर्न नेतृत्वदायी भूमिका खेलेको भन्दै सम्मान गरिएको छ । हालको स्वर्गभूमि रंगशालामा चार दशकअघि उनको नेतृत्वमा ‘नाँसरकोँ बजार’ आयोजना गरी फुटबल खेलको सुरुवात गरिएको थियो । बेलायती सेनाका भूपूसमेत रहेका उनले हरेक वर्ष घलेगाउँको यस कार्यक्रमका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उक्त कार्यमा अग्रणी पहल लिँदै तत्कालीन समयमा ५० हजार रुपैयाँ ल्याएर फुटबल प्रतियोगिता सञ्चालन गरेको भन्दै स्वर्गीय तेजबहादुर गुरुङलाई मरणोपरान्त सम्मान गरिएको छ । उनका छोरा देवेन्द्र गुरुङलाई सम्मानपत्र र बख्खु हस्तान्तरण गरिएको आयोजक पर्यटन व्यवस्थापन समिति स्मार्ट भिलेज घलेगाउँका सचिव उमलबहादुर विकले बताए ।

कार्यक्रममा गायक राजु परियार, केशबहादुर गुरुङ, अनुज अधिकारी, गायिका मधु थापामगर, उषा गुरुङ, प्रिया गुरुङलगायतले सांगीतिक प्रस्तुति राखेका थिए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully