लेकसाइडको खहरेबाट विभिन्न जातजाति र समुदायका झाँकी एवं पञ्चेबाजासहित निकालिएको र्याली अम्बोट पुगेर औपचारिक उद्घाटन समारोहमा परिणत भएको थियो ।
What you should know
पोखरा — 'पर्यटन, संस्कृति र खाना' लाई मुख्य प्राथमिकतामा राख्दै पर्यटकीय राजधानी पोखरामा २१औं संस्करणको 'फेवा नववर्ष महोत्सव २०८३' आइतबारदेखि सुरु भएको छ ।
होटल संघ पोखराद्वारा आयोजित यस महोत्सवले नयाँ वर्षको अवसरमा ३ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । लेकसाइडको खहरेबाट विभिन्न जातजाति र समुदायका झाँकी एवं पञ्चेबाजासहित निकालिएको र्याली अम्बोट पुगेर औपचारिक उद्घाटन समारोहमा परिणत भएको थियो ।
महोत्सवको उद्घाटन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले फेवा महोत्सवको निरन्तरताले पोखराको गरिमा बढाएको बताइन् । 'पोखरा ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय हिसाबले महत्त्वपूर्ण सहर त थियो नै, अहिले पर्यटकीय राजधानीको उपमा पाउनु गौरवको कुरा हो,' उनले भनिन्, 'महोत्सवमा देखिएको यो सांस्कृतिक ऐक्यबद्धताले पोखरालाई सुरक्षित र सुन्दर सहरका रूपमा अझै अगाडि बढाउन मद्दत पुग्नेछ ।' सहिदचोक र खहरेबीचको सडकमा सञ्चालित महोत्सव आगामी वैशाख १ गते रातिसम्म चल्नेछ ।
महोत्सवलाई लक्ष्य गरी होटल संघले विशेष सहुलियतको समेत घोषणा गरेको छ । होटल संघ पोखराका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीका अनुसार महोत्सव अवधिभर संघअन्तर्गतका होटलहरूले प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट प्रदान गर्नेछन् । 'हामीले पर्यटकलाई सस्तो र गुणस्तरीय सेवा दिने उद्देश्यले यो छुटको व्यवस्था गरेका हौं,' सुवेदीले भने, 'यसका साथै ई–सेवामार्फत होटल बुक गर्दा थप १० प्रतिशतसम्म क्यासब्याकको अफर पनि मिलाएका छौं ।'
महोत्सवमा यसपटक सातै प्रदेशका सांस्कृतिक नाच, पप कन्सर्ट र मौलिक पञ्चेबाजा प्रतियोगितालाई मुख्य आकर्षणका रूपमा राखिएको छ । सोमबार खहरेबाट दुलही लिन अम्बोट पुग्ने मौलिक शैलीमा पञ्चेबाजा प्रतियोगिता हुने र त्यसमा १५ वटा समूहले भाग लिने आयोजकले बताए । यस्तै लेकसाइडका गौरीघाट, सेन्टर प्वाइन्ट र अम्बोटका चौताराहरूमा सांस्कृतिक प्रस्तुति र रत्यौलीका कार्यक्रमसमेत समावेश गरिएको छ ।
महोत्सव उद्घाटनकै अवसरमा होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष प्रवीणबहादुर पाण्डेले पोखराले अब आन्तरिकसँगै क्षेत्रीय पर्यटनमा पनि जोड दिनुपर्ने बताए । 'नेपाली पर्यटकसँगै भारतीय र चिनियाँ पर्यटकको आगमनले पोखराको आर्थिक गतिविधिमा ठूलो योगदान पुग्नेछ,' उनले भने ।
