ढुङ्गा खस्ने क्रम जारी रहेकाले पैदलयात्रुलाई पनि उक्त सडक भएर यात्रा गर्न रोक लगाइएको नेपाली सेनाले जनाएको छ ।
What you should know
गोरखा — बेनीघाट–आरुघाट–लार्के सडक खण्ड अन्तर्गत धार्चे–३ दोभान नजिकैको कालोभीरमा सुक्खा पहिरो खस्दा तीन दिनदेखि सडक अवरुद्ध बनेको छ ।
सुक्खा पहिरोले सिङ्गो चुमनुव्री गाउँपालिका र धार्चेको माथिल्लो भेग पुग्ने स्थानीय समस्यामा परेका छन् । चट्टानसहितको सुक्खा पहिरोले सडकको वेससम्म धसेर बुढीगण्डकीमा पुगेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।
‘गाडीलाई आउजाउमा सहज होस् भनेर आइतबार सडक सफा गरेका थियौं, त्यसको भोलिपल्ट त्यही ठाउँमा चट्टानसहितको ठूलो पहिरो खस्यो,’ उनले भने, ‘ब्लास्टिङ गरेर खोलेको सडक हो, माथिको पहिरो चट्टानसहित खस्दा सडक धसिएर बुढीगण्डकीमा पुगेको छ, सडकको वेस १ मिटरजति बाँकी होला, त्यहाँबाट मेसिन पनि छिर्दैन ।’ कालोभीरमा पुन ब्लास्टिङ गरेर सडकको ट्रयाक खोल्नुपर्ने अवस्था आएको उनले बताए ।
अवरुद्ध लार्के सडक खुलाउन चुमनुव्री गाउँपालिकाले पनि नेपाली सेनालाई आग्रह गरेको थियो । वुधबार नेपाली सेनाको बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक निर्माण कार्यदललाई चट्टान खसेर अवरुद्ध सडक खुलाउनका लागि गाउँपालिकाले अनुरोध गरेको हो । सडक अवरुद्ध हुँदा चालु आर्थिक वर्षमा सम्पन्न हुने योजनाका लागि निर्माण सामग्री ढुवानीसमेत हुन नसकेको चुमनुव्री गाउँपालिकाले जनाएको छ ।
बेनिघाट–आरुघाट–लार्के सडकको ट्रयाक नेपाली सेनाले खोलेको हो । सडकमा सुक्खा पहिरो खसेर अवरुद्ध बनेपछि नेपाली सेनाको सडक निर्माण कार्यदलका प्राविधिकले स्थलगत अध्ययन गरिसकेको रुद्रध्वज गणका प्रमुख विरोध रिजालले बताए । सडकको प्रतिवेदन नेपाली सेनाको विकास निर्माण निर्देशनालयमा पठाइएको छ । निर्देशनालयसँग सडक मर्मतबारे समन्वय भइरहेको नेपाली सेनाले जनाएको छ ।
सुक्खा पहिरोसँगै खसेको चट्टान सडकको झण्डै ४० देखि ५० मिटर भागमा क्षति पुर्याएको छ । सडक मर्मतमा एक महिनासम्म समय लाग्न सक्ने प्राविधिकले बताएका छन् । ढुङ्गा खस्ने क्रम जारी रहेकाले पैदलयात्रुलाई पनि उक्त सडक भएर यात्रा गर्न रोक लगाइएको नेपाली सेनाले जनाएको छ । मनास्लु क्षेत्र पुग्ने पर्यटक र स्थानीय कालोभीरपारिको पैदलमार्गबाट यात्रा गर्न थालेका छन् ।
त्यस्तै बुधबार नै धार्चे गाउँपालिकाले पहिरो हटाउनका लागि आवश्यक पहल गर्न जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको थियो । दोभान नजिकै कालोभीरमा सुक्खा पहिरो खस्न गई सडक अवरुद्ध भएकाले गाउँपालिकाको एकल प्रयत्नबाट मात्र यथाशीघ्र पहिरो हटाउन सम्भव नदेखिएपछि सहजीकरणका लागि प्रशासनलाई आग्रह गरिएको हो ।
लार्के सडकको ट्रयाक पाङसिङसम्म खुलेसँगै हिउँदयाममा जिप, ट्रक, ट्याक्टर, मोटरसाइकल लगायतका सवारी संचालन हुँदै आएको छ । अहिले पर्यटकीय सिजन पनि भएकाले सडक अवरुद्ध हुँदा मनास्लु क्षेत्र जाने पर्यटक पनि समस्यामा परेका छन् । त्यस्तै उपभोग्य सामग्री ढुवानीमा पनि समस्या भएको स्थानीयले बताए । बाटो चाँडो खुलाएर सडक सुचारु गर्न स्थानीयले माग गर्दै आएका छन् ।
