बागलुङको धौलागिरि बहुमुखी क्याम्पसमा एक करोडको छात्रवृत्ति कोष

यो कोष २०७९ मा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियनका सभापति सुदीप सागर कँडेल नेतृत्वको टिमको गौरव गर्न लायक काम भएको क्याम्पसका गणित विभागका शिक्षक विष्णुप्रसाद चापागाईंले बताए ।

चैत्र २५, २०८२

प्रकाश बराल

Scholarship fund of Rs 10 million at Dhaulagiri Multiple Campus in Baglung

What you should know

बागलुङ — यहाँस्थित धौलागिरि बहुमुखी क्याम्पसका विद्यार्थीले देउसी भैलो खेलेर संकलन गरेको रकमबाट छात्रवृत्ति कोष खडा गरेका छन् । तीन वर्षको प्रयासमा एक करोड रुपैयाँ जम्मा गरेर ‘छात्रवृत्ति अक्षय कोष’ नाम दिई संचालनमा ल्याएका हुन् । विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिई पढ्ने वातावरण बनाउन यो कोष स्थापना गरिएको विद्यार्थीको भनाइ छ । 

२०७९ मा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियनका सभापति सुदीप सागर कँडेलको नेतृत्वमा २०८० को तिहारमा देउसी भैलोबाट सुरु भएको अक्षयकोष निर्माण अभियान अहिले आएर पूरा भएको हो । मंगलबार त्रिभुवन विश्वविद्यालयका रेक्टर खड्गबहादुर केसीको उपस्थितिमा कँडेलले यो कोषको रकम क्याम्पस संचालक समितिलाई हस्तान्तरण गरे । 

स्ववियुले सुरु गरेको देउसी भैलो अभियानमा समाजका प्रतिष्ठित व्यक्ति, पूर्वविद्यार्थी, स्थानीयसमेतले सहभागिता जनाएको कँडेलले बताए । मंगलबार आयोजित कार्यक्रममा ‘छात्रवृत्ति कोष’का लागि १ करोड ९ लाख ४१ हजार ६ सय ५१ रुपैयाँ कँडेलले क्याम्पस संचालक समितिका अध्यक्ष प्राडा दिनबहादुर थापा र क्याम्पस प्रमुख सह–प्राध्यापक सुदर्शन सिलवाललाई हस्तान्तरण गरे । 

क्याम्पसमा विशेष गरी प्राविधिक विषय पढ्न चाहने विपन्न विद्यार्थीलाई यो कोषबाट सहयोग गरिनेछ । धौलागिरि बहुमुखी क्याम्पसमा स्नातक तहमा विज्ञान, बीबीए र बीसीआईटी विषयको अध्यापन गरिन्छ । त्यसबाहेक स्नातकोत्तर तहमा एमबीएस, मानविकीतर्फ समाजशास्त्र, नेपाली, अंग्रेजी तथा शिक्षा संकायमा अध्यापन हुन्छ । ‘ग्रामीण क्षेत्रबाट आएर पढ्न खोज्ने विद्यार्थीलाई आर्थिक कारण बाधा नपरोस भनेर हामीले कोष सुरु गरेका थियौं, अहिले पूरा भयो,’ तत्कालीन स्ववियु कोषाध्यक्ष सृष्टि आचार्यले भनिन्, ‘यो कोषले आमविद्यार्थीको हितमा काम गर्नेछ ।’  सदरमुकामदेखि बाहिरबाट आउने विद्यार्थीलाई आवश्यकताका आधारमा छात्रावासको व्यवस्थापन पनि गरिएको छ । यो कोषले भने पढाइ खर्चलाई सहयोग गर्ने बताइएको छ । 

कँडेल नेतृत्वको स्ववियुले विद्यार्थीको पढाइलाई गुणस्तरीय बनाउन पनि त्रैमासिक परीक्षा प्रणाली लागू गरेको थियो । यो प्रणालीकै कारण बीबीएतर्फ धौलागिरि बहुमुखी क्याम्पस नेपालमै उत्कृष्ट बन्न सकेको थियो । ‘स्ववियुको सक्रियताले क्याम्पसको गुणस्तर सुधार गर्न धेरै सहज भएको छ,’ पूर्व क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले भने, ‘पढ्न चाहनेका लागि यो कोष बरदानजस्तै भयो ।’ पैसा भएकाहरू सहरी क्षेत्रमा जाने, जिल्ला तहमा आर्थिक अभावले पढ्न नसक्नेहरूलाई कोषको व्याजबाट सहयोग गरिने स्ववियु र क्याम्पस प्रशासनले कार्यविधिसमेत बनाएको छ । आगामी दिनमा कार्यविधि अनुसार विद्यार्थीको छनोट गरी छात्रवृत्ति दिने व्यवस्था गरिने सिलवालले बताए । 

त्रिविको आंगिक भए पनि यहाँ विज्ञान, बीबीए, बीसीआईटी विषय भने स्थानीयको अगुवाइमा संचालनमा आएको हो । प्राविधिक विषयकै कारण क्याम्पसले सफलता पाउँदै गएको छ । निजी रुपमा संचालन भएका संकायका लागि क्याम्पसले ३५ जना आंशिक शिक्षक राखेको छ । क्याम्पस प्रशासनका अनुसार पाठ्यक्रमको ६० प्रतिशत भार आंशिक र करार शिक्षकको भरमा चलेको छ ।  

गत वर्षदेखि क्याम्पसले गुणस्तर प्रत्यायान अनुमति क्यूएए पाएको छ । क्यूएएको प्रमाणपत्र नेपाललगायत अन्तर्राष्ट्रिय बजारमा रोजगारीका लागि बढी उपयोगी देखिएको उपाध्यायले जानकारी दिए । स्वतन्त्र विद्यार्थी युनियनका वर्तमान सभापति आस्मिन शेखले यो कोषबाट छात्रवृत्ति पाउनयोग्य विद्यार्थी निष्पक्ष रुपमा छनोट गरिने बताइन् । अगुवाले गरेको मिहिनेतलाई खेर जान नदिने गरी विद्यार्थी हितमा काम गर्ने समेत उनको प्रतिबद्धता छ ।

यो कोषलाई कँडेल नेतृत्वको स्ववियुको गौरव गर्न लायक काम भएको क्याम्पसका गणित विभागका शिक्षक विष्णुप्रसाद चापागाईंले बताए । सबै क्याम्पसका प्रशासन र विद्यार्थीले यस्तै मिहिनेत गरेमा त्रिविको  गुणस्तर सुधारमा सहयोग पुग्ने उनको भनाइ छ ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully