विगत दुई दशकदेखि होटल म्यानेजमेन्ट क्षेत्रमा सीपमूलक तालिम प्रदान गर्दै आएको सेन्टरले नेपाली बार टेन्डरहरूको कलात्मकता र प्राविधिक दक्षतालाई उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
What you should know
पोखरा — पोखरामा आगामी २७ चैतमा राष्ट्रिय स्तरको बार टेन्डिङ प्रतियोगिता ‘पोखरा फ्लेयर मास्टर च्याम्पियनसिप’ आयोजना हुने भएको छ । कान्तिपुर होटल ट्रेनिङ सेन्टरको आयोजनामा ताजमहल इभेन्ट सेन्टर पर्स्याङमा उक्त कार्यक्रम हुन लागेको हो ।
विगत दुई दशकदेखि होटल म्यानेजमेन्ट क्षेत्रमा सीपमूलक तालिम प्रदान गर्दै आएको सेन्टरले नेपाली बार टेन्डरहरूको कलात्मकता र प्राविधिक दक्षतालाई उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा काठमाडौं, बुटवल, चितवन, इटहरी र पोखरा लगायतका सहरबाट ३७ जना व्यावसायिक बार टेन्डरले प्रतिस्पर्धा गर्नेछन् ।
संस्थाका अध्यक्ष विजय पौडेलले पर्यटन उद्योगमा दक्ष जनशक्तिको महत्त्व बुझाउन यो कार्यक्रम कोसेढुंगा साबित हुने बताए । ‘हामीले बेरोजगारलाई रोजगारी र रोजगारीलाई आयसँग जोड्ने लक्ष्य राखेका छौं,’ उनले भने, ‘यो प्रतियोगिताले नेपाली युवालाई बार टेन्डिङको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको करियर बनाउन प्रोत्साहन दिनेछ ।’ उनले हालसम्म यस संस्थाबाट २८ हजार जनाले तालिम लिइसकेको र उनीहरूले देशको आर्थिक विकासमा योगदान दिइरहेको समेत उल्लेख गरे ।
प्रतियोगितामा मिक्सोलोजी (पेय पदार्थ बनाउने विज्ञान) र फ्लेयरिङ (बोतल घुमाएर देखाइने कला) गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ । विभागीय प्रमुख निश्चल देवकोटाका अनुसार बार टेन्डिङ केवल पेय पदार्थ पस्कने कार्य मात्र नभई यो एक विशिष्ट कला र विज्ञान हो । ‘अहिले संसारभरका होटलमा ककटेल र मकटेलको ठेट स्वादसँगै ‘सोम्यानसिप’ देखाएर पर्यटकको बसाइँ लम्ब्याउने ट्रेन्ड छ,’ उनले भने, ‘यस्तो सीप भएका जनशक्तिले स्वदेश तथा विदेशका पाँचतारे होटलमा मासिक १ देखि ४ लाख रुपैयाँसम्म कमाउन सक्छन् । यो च्याम्पियनसिपमार्फत हामी उनीहरूको त्यही उच्च दक्षतालाई सम्मान गर्न चाहन्छौं ।’
प्रतियोगितामा पहिलो हुनेले ४० हजार, दोस्रोले २५ हजार, तेस्रोले १५ हजार र चौथोले ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट ककटेल बनाउने र उत्कृष्ट बोतल घुमाउने कला (फ्लेयरिङ) देखाउनेले जनही ५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको निर्णायक मण्डलमा बार टेन्डिङमा २५ वर्षको अनुभव सँगालेका युवराज पुन, ऐला विशेषज्ञ सुरज महर्जन, स्टेप अप हस्पिटालिटीका विष्णु सारु र सीटीईभीटी पोखराका शैलेन्द्र शाही रहेका छन् ।
कान्तिपुर होटल ट्रेनिङ सेन्टर २०६० मा पोखरामा स्थापना भएको संस्था हो । नेपाल सरकार र सीटीईभीटीको सम्बन्धन लिई ३ तथा ६ महिने होटल व्यवस्थापन तालिम सञ्चालन गर्दै आएको छ । यस च्याम्पियनसिपको शिक्षा साझेदार ट्रेनिङ सेन्टरकै भगिनी संस्था कान्तिपुर टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज हो, जसले अस्ट्रेलियन सरकारबाट मान्यता प्राप्त गरी २ वर्षे होटल व्यवस्थापन र ६ महिने पाक कलाको पाठ्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
