कृषि र पर्यटन विकासकालागि कोरला नाका संचालन गरौं: चन्द्र ढकाल

कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग बनिसकेकोले अब पर्यटन प्रबर्द्धन र कृषि उद्यम विकास आवश्यक भएको उनले बताए ।

चैत्र २१, २०८२

प्रकाश बराल

Let's operate Korala border crossing for agriculture and tourism development: Chandra Dhakal

What you should know

बागलुङ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरला नाका संचालनमा ल्याउन सरकारको ध्यानाकर्षण गरेका छन् । उनले सञ्चारमाध्यमले पनि कोरला नाका खोल्दा देशले पाउने फाइदाबारे आवाज उठाएर सरकारलाई नीतिगत निर्णयमा लैजानुपर्ने बताए ।

नेपाल पत्रकार महासंघले बागलुङमा आयोजना गरेको बागलुङ मिडिया मेलाको ‘बागलुङको भविष्य कृषि उद्यम की पर्यटन विषयक’ प्यानल छलफलमा ढकालले कोरला नाका संचालन गर्दा गण्डकी प्रदेश आत्मनिर्भर बन्न सक्ने औंल्याए । उनले गण्डकी प्रदेशलाई निर्यातमूखी बनाउन सबैको साझा पहल आवश्यक भएको पनि बताए । प्रदेश सरकारले समेत उत्पादन र निर्यातको नीति बनाएर संघीय सरकारसम्म दबाव लैजानसुझाव दिए ।

कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग बनिसकेकोले पूर्वाधार विकास भन्दा अब पर्यटन प्रबर्द्धन र कृषि उद्यमको विकास नै आवश्यक भएको बताए । ‘कोरला नाका संचालन गर्दा गण्डकी प्रदेश त समृद्ध बन्छ नै, देशलाई नै समृद्ध बनाउन सकिन्छ,’ उनले भने, ‘अब ग्रामीण बस्तीमा कृषि फसल बढाउन स्थानीयले लगानी थाल्नुहोस्, थप लगानी लिएर आउन व्यवसायी तयार छौं ।’ कृषि उद्यमको विकास गर्न पहिला कृषि उत्पादन बढाउनुपर्ने उनको धारणा छ । कृषि फसल किसानको जिम्मेवारीमा राख्दा बजारीकरण, आधुनिकीकरण मार्फत आर्थिक विकास गर्न सहयोग गर्ने उनले बताए ।

पर्यटन बोर्डका प्रदेश प्रमुख मणिराज लामिछानेले गण्डकी प्रदेश नै पर्यटनको केन्द्र भएकोले ढकालको मुद्दामा सहमति जनाए । भारतीय र चिनियाँ पर्यटक भित्र्याएर गण्डकी प्रदेश समृद्ध बन्न सक्ने उनको धारणा थियो । हरेक धार्मिकस्थललाई समेत पर्यटन केन्द्र बनाउन सकिने उनको सुझाव छ । त्यसकालागि प्याकेज बनाउने काममा बोर्डले साथ दिने लामिछानेको प्रतिबद्धता थियो । 

गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले गण्डकीका अधिकांश स्थान धार्मिक पर्यटनको संभावना भएर पनि ती क्षेत्रमा बस्ने, खाने पूर्वाधार अभाव रहेको बताए । उनले त्यसकालागि धार्मिक पर्यटन सर्किट बनाउने अभियानमा प्रदेशले नीति बनाउने त्यसको कार्यान्वयनमा स्थानीय तह र पर्यटन बोर्डको योजनामा समावेश गर्न सकिने बताए ।

त्यसबाहेक धार्मिक सर्किटले अधिकतम पर्यटक भित्र्याउन सकिने भएकोले हरेक धार्मिकस्थलमा धर्मशाला बनाउन आवश्यक रहेको औंल्याए । मुक्तिनाथमा रहेको धर्मशालाले सयौं पर्यटक र भक्तजनलाई सहयोग पुगेको बताउँदै उनले बागलुङ कालीका, भैरवस्थान, ढोरपाटनलगायतका दर्जनबढी स्थानमा पुग्ने भक्तजन बस्ने सामान्य आश्रयस्थल नभएपछि फर्कन बाध्य रहेको बताए । 

मिडिया मेलामा सञ्चार माध्यम र पत्रकारले विकासका एजेण्डा, पर्यटन, कृषि र उद्यमशीलताका विषयलाई प्राथमिकता दिनुपर्ने आवश्यकता समेत उठाइएको छ । मेलामा एक दर्जन समूह छलफलमार्फत पत्रकारिताको भविष्य खोज्ने काम गरिएको महासंघका बागलुङ अध्यक्ष राम थापाले बताए । यो मेलामा महासंघका केन्द्रीय नेतृत्व, प्रदेश प्रेस रजिष्टार, सञ्चार उद्यमीहरु समेतको सहभागिता छ । मेलामा मिडियाको शैलीबारे पनि छलफल भयो । महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले पत्रकारिताको कन्टेन्टमा आक्रामक बन्न सकिने, तर शैली आक्रामक देखाएर कसैलाई केही कुरा भन्न बाध्य बनाउन नहुने सुझाव दिए । कार्यक्रममा पत्रकार शुभशंकर कँडेल र युवराज कँडेलले आक्रामक शैलीनै अहिलेको पत्रकारिताको शैली बन्न थालेको बताए । 

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully