मिडिया मेलामा फोटो प्रदर्शनी, परम्परागत मिडिया सामग्री प्रदर्शनी, भित्ते पत्रिका लेखन प्रतियोगितालगायतका क्रियाकलाप पनि समावेश छन् ।
What you should know
बागलुङ — नेपाल पत्रकार महासंघले बागलुङमा आयोजना गरेको मिडिया मेलामा गिद्देप्रेसदेखि एआईसम्मको मन्थन गरिएको छ । मन्थनमा सहभागीले एआईसँग पत्रकारिता गर्न सिक्नुपर्ने तर ‘एआइ पत्रकारिता’ गर्न नहुने बताएका छन् ।
उनीहरुले पत्रकारिताकालागि फिल्ट रिर्पोटिङ, सत्यतथ्यको खोजी, अनुसन्धान, खबरको पुष्टि अनिवार्य भएको बताए । नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले २४ घण्टा पर्खेर समाचार सुन्ने धैर्यतालाई हतारको साहित्य भनेको पत्रकारितालाई सेकेन्डमा समाचार दिने चुनौती थपिएको बताए ।
उनले यो हतारमा एआईको प्रयोग खोज्दा प्राविधिक रुपमा सहज बन्ने तर वास्तविक पत्रकारिताबाट पर पुग्न सकिने खतरा औंल्याए । ‘अबको पत्रकारिता सामाजिक सञ्जालको विषय लेख्ने होइन, हाम्रो समाचार सामाजिक सञ्जालको कन्टेन्ट बनोस्,’ दाहालले भने, ‘गहिरो अनुसन्धान गरेर पत्रकार बाँच्न सक्ने अवस्था बन्नुपर्छ ।’
संख्याकालागि समाचार लेख्नुपर्ने बाध्यताबाट पत्रकारलाई निर्भिक भएर रिर्पोटिङ गर्ने वातावरण चाहिएको उनले बताए । त्यो आर्थिक रुपमा सक्षम, सामाजिक रुपमा निर्भिक र परिपक्व पत्रकारितामा सम्भव बन्ने बताए ।
प्रेस काउन्सिलका सदस्य केशवशरण लामिछानेले पत्रकारिता सत्य तथ्यमा केन्द्रीत बन्नुपर्ने बताए । उनले आचारसंहिता पालना गरेको, तथ्यमा आधारित नभइ कानूनको उलंघन गर्ने खालको बन्न नहुने उनले बताए । ‘हामीले कतिपय पत्रकार साथीलाई कारवाही गर्न बाध्य भएका छौं, त्यस्तो नहोस्,’ उनले भने, ‘पत्रकारिता समाजको मार्ग दर्शक बन्नुपर्छ ।’ काउन्सिलले नैतिक रुपमा सचेत बनाउने भएको कानुनी बाटोमा जाँदा कारवाही भोग्ने पत्रकारिता कसैले नगर्न सचेत बनाए ।
पत्रकार विमल गौतमले पत्रकारिता अब परम्परागत शैलीले टिक्न नसक्ने बताए । समाज डिजिटल युगमा आएकोले पत्रकार पनि डिजिटल माध्यमबाटै चल्न नसके पत्रकार र पत्रकारिता मर्ने उनको दाबी छ । ‘जसरी राजनीति कता जाँदैछ भनेर नबुझ्दा पुराना दलमा सुनामी आयो, समय बुझ्न नसके पत्रकारितामा पनि बाढी आउनेछ ।’
अर्का पत्रकार एकराज पाठकले भने पत्रकारितालाई दिगो रुपमा संचालन गर्नकालागि खोजी पत्रकारिता, फिल्ड रिर्पोटिङ गर्न सक्नुपर्ने बताए । उनले हरेक पत्रपत्रिकादेखि अन्य सञ्चारमाध्यमहरुले डिजिटल विधि पनि उपयोग गर्दा दिगो बन्न सक्ने बताए । ‘कपीपेस्ट, अर्काको समाचार ल्याएर बाइलाइन बनाउने प्रवृत्ति भने अन्त्य गर्न जरुरी छ,’ पाठकले भने, ‘आफ्नो धर्म र आफ्नोपन नियमित बनाउन सके पत्रकारितामा ठूलो असर पर्दैन ।’
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पत्रकारिताले देशको विकासका संभावना देखाइदिनुपर्ने बताए । त्यसमा उद्योगी व्यसायीले लगानी गर्ने वातावरण राज्यको भएको उनको धारणा छ । ‘पत्रकारिताले संभावना खोजौं, राज्यले सुरक्षा दिँदा व्यवसायी लगानी गर्न तयार छन्,’ ढकालले भने, ‘अब राज्यमा डिजिटल मार्केटिक नीति पनि चाहिएको छ ।’ त्यसबाट उद्योगीले लगानी बढाउन खोजेको उनले बताए ।
कोरला नाका संचालन गरेर गण्डकी प्रदेशको समृद्धि खोज्न सकिने उनको तर्क छ । त्यसकालागि पत्रकारिताले राज्यको ध्यान खिच्न सकेको छैन । उनले व्यवसायीको मात्र लगानी खोज्ने भन्दा स्थानीयको लगानीमा व्यवसायीले थप गर्ने पद्दति विकास गरेमा ग्रामीण क्षेत्रमा उत्पादन बढ्ने, बजारीकरण गर्न सकिने र युवा पलायन रोकिने बताए ।
गण्डकी प्रदेशका सदस्य डिल्लीराम सुवेदीले प्रदेश सरकार लगानी मैत्री नीति बनाउन चाहेको भन्दै त्यसमा पत्रकारिताले पनि आवस्यकता औंल्याउनुपर्ने बताए ।
मिडिया मेलामा चर्चित कन्टेन क्रियटर बर्षा बस्नेत, सोलो ट्राभलर सिर्जना सिज्जु, सफ्टवेयर आर्किटिक चिराग थापा र बरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले पनि पत्रकारिता विश्वसनीय र अनुसन्धानमूलक बन्नुपर्ने बेला आएको बताए । उनीहरुले मिडिया मेलाले देशभर यो सन्देश दिन सक्नुपर्ने बताएका थिए ।
मिडिया मेलामा फोटो प्रदर्शनी, परम्परागत मिडिया सामग्री प्रदर्शनी, भित्ते पत्रिका लेखन प्रतियोगितालगायतका क्रियाकलाप पनि समावेश छन् । मेला गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गरेका थिए । शनिबारसम्म चल्ने मेलामा महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा, कान्तिपुरका पत्रकार दिपक सापकोटा, अन्टार्कटिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मा, गायक वसन्त थापा, अभियानकर्मी आरके अदिप्त गिरि, योजनाविद् विजयराज पन्त समेत सहभागी भएको महासंघका अध्यक्ष राम थापाले बताए । मेलामा महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले लेखेको मैथिली भाषाको पुस्तक ‘जगन्मुक्ति’ विमोचन समेत गरिएको थियो ।
