डुम्रे-बेंसीसहर सडकको तुरतुरे क्षेत्रमा आंशिक बन्द

चैत २१ देखि ३० गतेसम्म मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म र बेलुकी ५ बजेदेखि राति ९ बजेसम्म सडकमा सवारी आवागमन बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

चैत्र २०, २०८२

आश गुरुङ

Partial closure of the Dumre-Besisahar road in the Turture area

लमजुङ — लमजुङ जोड्ने डुम्रे–बेंसीसहर–चामे सडकअन्तर्गत तनहुँको भानु नगरपालिकास्थित चाम्बासदेखि तुरतुरेसम्मको सडक शनिबारदेखि चैत ३० सम्म आंशिक बन्द हुने भएको छ ।

मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म र बेलुकी ५ बजेदेखि राति ९ बजेसम्म सडकमा सवारी आवागमन बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

भानु नगरपालिकाको ढुकुर्दी क्षेत्रदेखि तुरतुरे सम्म सडक विस्तार गर्ने कार्य भइरहेकोले दैनिक २ समय सडक बन्द गर्नुपरेको जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत विकास श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख छ ।

Partial closure of the Dumre-Besisahar road in the Turture area

निर्माणस्थलमा सम्भावित दुर्घटना जोखिम न्यूनीकरण गर्न तथा कार्य प्रगतिमा सहजीकरणका लागि सडक बन्द गर्नुपरेको डुम्रे–बेंसीसहर–चामे सडक आयोजनाले जनाएको छ । कार्यालय निमित्त प्रमुख सतीश सुवेदीले सडक फराकिलो बनाउन ‘कटिङ’ गर्नुपरेकोले सडक बन्द गर्नुपर्ने अवस्था आएको बताए । उनका अनुसार सडक फराकिलोका लागि कटिङ कार्यअन्तर्गत करिब ३ किलोमिटर सडक बन्द हुनेछन् । नालासहित करिब १० मिटर (डबल लेन) सडक निर्माणका लागि अहिले सडक योजनाले तुरतुरे क्षेत्रमा काम गरिरहेको उनले बताए ।

सडक बन्द भएको अवधिमा सवारी चालक तथा यात्रुलाई वैकिल्पक मार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय तनहुँ र डुम्रे–बेंसीसहर–चामे सडक योजना कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । मुख्य सडक अवरुद्ध भएको बेलामा तुरतुरे–पालुङटार–खत्रीटार हुँदै विमलनगरको बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully