बागलुङमा मिडिया मेला हुने

पत्रकारिताका विविध आयामबारे प्यानलगत छलफल गर्ने, पुराना र परम्परागत सञ्चार सामग्री प्रदर्शनी, चित्रकला, फोटो प्रदर्शनी, भित्तेपत्रिका लेखन लगायतका क्रियाकलाप समावेश गरेर मेला गर्न लागिएको हो ।

चैत्र १९, २०८२

प्रकाश बराल

Media fair to be held in Baglung

बागलुङ — नेपाल पत्रकार महासंघ बागलुङको आयोजनामा दुईदिने मिडिया मेला हुने भएको छ । चैत २० र २१ मा महासंघले दर्जन बढी क्रियाकलापसहित मेला गर्न लागेको अध्यक्ष राम थापाले बताए । 

पत्रकारिताका विविध आयामबारे प्यानलगत छलफल गर्ने, पुराना र परम्परागत सञ्चार सामग्री प्रदर्शनी, चित्रकला, फोटो प्रदर्शनी, भित्तेपत्रिका लेखन लगायतका क्रियाकलाप समावेश गरेर मेला गर्न लागिएको हो । मेलामा बागलुङको कृषि र पर्यटनका विषयमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालसहितका पर्यटन विज्ञहरु सहभागी बन्ने छन् ।

त्यस्तै नेपाली पत्रकारिताको विषयमा महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा, वर्तमान महासचिव रामप्रसाद दाहाल, कान्तिपुरका पत्रकार दीपक सापकोटा, पत्रकारहरु उजिर मगर, एकराज पाठक, शुभशंकर कँडेल, सिर्जना सिज्जु, उज्वल आचार्य लगायतसँग छलफल हुनेछ । 

कार्यक्रममा अन्टारटिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मा, कलाकार वसन्त थापा, दलित अधिकारकर्मी कुञ्जनी परियार, संरक्षणकर्मी आरके अदीप्त गिरि, जनप्रतिनिधिहरु र विभिन्न क्षेत्रमा क्रियाशील पत्रकारको सहभागिता रहनेछ । साथै गण्डकी प्रदेशका अधिकांश जिल्लाका पत्रकारको पनि मिडिया मेलामा सहभागिता हुने जनाइएको छ ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully