जिल्लाको आन्तरिक पर्यटकलाई आकर्षित गर्ने र गोरखा जिल्लाबाट अन्य क्षेत्रमा गई नयाँ वर्ष मनाउने परिपाटी अन्त्य गर्न महोत्सव आयोजना गरिएको होटल संघले जनाएको छ ।
गोरखा — नयाँ वर्षको अवसरमा गोरखा नगरपालिका–६ स्थित रानीपोखरी परिसरमा 'रैथाने खाना तथा सडक महोत्सव’ हुने भएको छ । आयोजक गोरखा होटल संघले बुधबार पत्रकार सम्मेलन गरी चैत ३० देखि वैशाख १ गतेसम्म महोत्सव हुने जानकारी दिएको हो ।
जिल्लाको आन्तरिक पर्यटकलाई आकर्षित गर्ने र गोरखा जिल्लाबाट अन्य क्षेत्रमा गई नयाँ वर्ष मनाउने परिपाटी अन्त्य गर्न महोत्सव आयोजना गरिएको होटल संघले जनाएको छ ।
गोरखा सदरमुकाममा नै उल्लासमय वातावरणमा नयाँ वर्ष मनाउने तथा रैथाने खानाहरुको प्रवर्द्धन पनि गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको संघका महासचिव सुमन श्रेष्ठले बताए । चैत ३० गते महोत्सव समुद्घाटन कार्यक्रम अघि खेलकुद मैदान हरमटारीबाट विसौनीमोड, बसपार्क हुँदै रानीपोखरीसम्म विभिन्न जातजातिको झाँकीसहितको र्याली हुने उनले बताए । महोत्सवमा
जिल्लाको सम्पूर्ण पालिकाको रैथाने खानाका स्टलहरु रहने संघका कार्यवाहक अध्यक्ष कृष्ण प्रसाद लामिछानेले बताए । रैथाने खानाका १५ स्टल रहने छन् ।
चैत ३० गते बेलुका द एजिल ब्यान्ड र रक्तिम ब्याण्डको साथमा सांगीतिक कार्यक्रम हुनेछ । त्यस्तै नेपाल आइडलको टप-७ मा पुग्न सफल जिदान गुरुङको पनि प्रस्तुति रहने छ ।
वैशाख १ गते खुला ग्रुप डान्स प्रतियोगिताको आयोजना गरिएको छ । सोही दिन लोकदोहारी कलाकारहरुको प्रस्तुति पनि रहने छ ।
नृत्य प्रतियोगितामा पहिलो बन्ने टिमलाई १० हजार, दोस्रोलाई ८ हजार र तेस्रो बन्नेलाई ५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
