लमजुङमा बाहिरी जिल्लाबाट कुखुरा र कुखुराजन्य वस्तु ल्याउन प्रतिबन्ध

कुखुरा व्यवसायीहरूसंँगको छलफलपछि बसेको बर्ड फ्लु नियन्त्रण समितिको बैठकले बुधबारदेखि कुखुरा तथा कुखुराजन्य वस्तु ल्याउन प्रतिबन्ध लगाएको हो ।

चैत्र १८, २०८२

आश गुरुङ

Lamjung bans import of chickens and poultry products from outside districts

What you should know

काठमाडौँ — लमजुङमा कुखुरा र कुखुराजन्य पन्छाीमा लाग्ने बर्ड फ्लु भित्रिन नदिन बाहिरी जिल्लाबाट कुखुरा तथा कुखुराजन्य वस्तु भित्र्याउन प्रतिबन्ध लगाइएको छ ।

कुखुरा व्यवसायीहरूसंँगको छलफलपछि बसेको बर्ड फ्लु नियन्त्रण समितिको बैठकले बुधबारदेखि कुखुरा तथा कुखुराजन्य वस्तु ल्याउन प्रतिबन्ध लगाएको हो । 

समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालको अध्यक्षतामा मंगलबार बसेको बैठकले अर्को निर्णय नभएसम्म कुखुराको मासु, जीवित कुखुरा तथा अण्डा ओसारपसारमा रोक लगाएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय प्रमुख डा. सुनिल न्यौपानेका अनुसार देशका विभिन्न भागसँगै पछिल्लो समय चितवनमा बर्डफ्लु आउटब्रेक भएको भन्दै जिल्लामा यस रोग भित्रिन नदिन निर्णयका साथ अघि बढेको हो ।

कुखुराको चल्लाको हकमा पशु ढुवानी मापदण्ड, २०६४ बमोजिम दर्तावाल पशु चिकित्सकबाट जारी हुने भेटेरिनरी प्रमाणपत्र लिई मात्र ओसारपसार गर्न सकिने र यसको सघन निगरानीको लागि जिल्ला प्रहरी कार्यालयले आवश्यक प्रबन्ध मिलाउने निर्णय गरिएको छ । यसका लागि आवश्यकताअनुसार सहजीकरण गर्न भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले सम्बन्धित पालिकाका पशु सेवा शाखासँगको समन्वयमा प्राविधिक टोलीको व्यवस्था गर्नेछ । 

यस विषयमा सम्बन्धित सरोकारवालालाई जानकारी गराउनको लागि ओसार पसार प्रतिबन्ध गरिएको बारेको सूचना साथै बर्ड फ्लु रोग बारेको सचेतनामूलक सूचना सञ्चार माध्यमबाट प्रकाशन, प्रसारण गर्ने निर्णय भएको डा. न्यौपानेले जानकारी दिए ।

बर्ड फ्लु भित्रिन नदिन प्रारम्भिक पहिचानका लागि भेटरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले नियमित रूपमा निगरानी गर्ने निर्णय गरिएको छ ।

बर्ड फ्लु कुखुरा, हाँसलगायतका पन्छीमा लाग्ने संक्रामक भाइरल घातक रोग मानिन्छ । संक्रमित पन्छीसँग प्रत्यक्ष सम्पर्क, फोहोर वा संक्रमित सामग्रीमार्फत यो रोग फैलिन सक्ने र दुर्लभ अवस्थामा मानिसमा पनि संक्रमण हुन सक्ने पशु चिकित्सकहरू बताउँछन् ।

बिरामी वा मरेका कुखुरासँग प्रत्यक्ष सम्पर्क नगर्न, कुखुरा पालनस्थलमा सरसफाइ कायम गर्न, शंकास्पद अवस्थामा तुरुन्त कार्यालयमा जानकारी दिन र कुखुराजन्य वस्तु राम्रोसँग पकाएर मात्र उपभोग गर्न पशु चिकित्सकहरुको सुझाव छ । भेटरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले सबै सरोकारवालालाई सतर्क रहन र तोकिएका नियमहरुको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully