आयोजक पसगाउँ सामूहिक होमस्टेले सोमबार बेंसीसहर र मंगलबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी महोत्सव तयारीबारे जानकारी गराएको हो ।
लमजुङ — लमजुङको क्व्होलासोथार गाउँपालिका-६, पसगाउँमा यही चैत २५ र २६ गते १६ औं पसगाउँ महोत्सव २०८२ हुने भएको छ ।
पसगाउँवासीले २०६० वैशाख १६ र १७ गते पहिलो पसगाउँ महोत्सव आयोजना गरेको थियो । बीचमा केही वर्ष महोत्सव रोकिएकोमा पछिल्लो समय बर्सेनि महोत्सव हुन थालेको छ ।
समुद्री सतहबाट १ हजार ६ सय ५० मिटरको उचाइमा रहेको पसगाउँलाई देश विदेशमा थप चिनाउन, स्थानीय भेषभूषा, कला संस्कृति, गीत संगीतको संरक्षण र संवर्द्धन गर्न, गरिबी न्यूनीकरण गर्न, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
आयोजक पसगाउँ सामूहिक होमस्टेले सोमबार बेंसीसहर र मंगलबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी महोत्सव तयारीबारे जानकारी गराएको हो । क्व्होलासोथार गाउँपालिका अध्यक्षसमेत रहेका होमस्टे अध्यक्ष सूर्यप्रसाद गुरुङले ग्रामीण गरिबीलाई न्युनीकरण गर्न साथै पसगाउँको आर्थिक समृद्धिलाई थप उचाइमा पुर्याउन महोत्सवको आयोजना गर्न लागिएको जानकारी दिए ।
दक्षिणी मोहोडामा ढुंगाले छाएका घरहरु, घुमाउने घर, गुरुङ संग्रहालय, ऐतिहासिक तथा धार्मिकस्थलहरु पसगाउँका हेर्नलायक सम्पदाहरु हुन् । गाउँका सामाजिक परम्पराहरु रोधीं, हुरी, सामुहिक श्रमलगायत परम्परागत प्रथा, आमा समूहको नाच, युवा क्वलको सांस्कृतिक नाच, सेर्गा, घाँटु, कृष्ण चरित्र, सारङ्गी, झ्याउरेलगायत नाच पसगाउँमा देख्न पाइन्छ ।
समितिका सचिव एवम् पूर्वशिक्षक रतनसिंह गुरुङका अनुसार अर्ग्यानिक खानपान, परम्परागत हस्तकला, पौराणिक चालचलन, रहनसहन, प्रकृति र संस्कृतिका लागि पसगाउँ धनी छ । समय अनुकूल वनजंगलमा पाइने विभिन्न प्रकारका फलफूलले पर्यटक लोभ्याएको उनले दाबी गरे ।
पसगाउँमा पर्यटक राख्न २१ घरमा होमस्टे सञ्चालन गरिएको छ । प्याकेजमा प्रतिव्यक्ति १ हजार २ सय रुपैयाँ राखिएको छ । १ सय ७५ घर रहेको पसगाउँमा गुरुङ समुदायलगायत भुजेल, दलित समुदायहरु पनि छन । गाउँ माथिको क्होम्रेडाँडा र ङ्योजेडाँडा पुगेपछि पोखरा आसपासका क्षेत्रमात्रै नभइ मनाङ, गोरखा, कास्कीका ग्रामीण भेगदेखि सहरहरु देख्न सकिने समितिका सहसचिव भक्त गुरुङ बताउँछन् । उनका अनुसार यहाँबाट सूर्योदय र सूअस्तमात्रै नभएर दर्जन हिमश्रृंखलाहरु लहरै देख्न सकिन्छ ।
यसपटक महोत्सवमा क्व्होलासोथार गाउँपालिकाभित्रका वडाहरुको सामुहिक नृत्य प्रतियोगिता समावेश गरिएको छ । विजेता समूहले नगद ५० हजार, उपविजेताले ३० हजार र सान्त्वना समूहले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
लमजुङ सदरमुकाम बेंसीसहरबाट मालिङ, साल्मेभञ्ज्याङ, घाम्राङ हुँदै पसगाउँ पुग्न सकिन्छ । साल्मेभञ्ज्याङबाट चरागाउँ, बगैंचा हुँदै पनि पसगाउँ पुग्न सकिन्छ । बेंसीसहरबाट घलेगाउँ, भुजुङ हुँदै पनि पसगाउँ पुग्न सकिन्छ ।
यस्तै, बेंसीसहरबाट भोर्लेटार रामबजार अथवा पोखराबाट रामबजार भएर करापु, छापा, गिलुङ हुँदै साल्मेभञ्ज्याङ निस्किएर चरागाउँ वा घाम्राङको बाटो पसगाउँ पुगिन्छ । पोखराबाट भैंसे, थुम्सीकोट, मुंग्रीवेसी, बालुवावेसी, वगैंचा हुँदै पसगाउँ पुगिन्छ । काठमाडौंबाट तनहुँको दमौली हहुँदै लमजुङको दुइपिप्ले, भोर्लेटार, रामबजार हुँदै गिलुङको बाटो भएर पसगाउँ पुगिन्छ ।
