प्रहरीका अनुसार अस्थायी प्रहरी पोष्ट मालढुंगाको टोलीले टिपरको जाँच गर्नेक्रममा २५ वर्षीय सहचालक विशाल विक भागेर कालीगण्डकी नदीमा हाम फालेका थिए ।
काठमाडौँ — पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगाबाट सोमबार राति कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएका टिपरका सहचालक अझै फेला परेका छैनन् । प्रहरीका अनुसार अस्थायी प्रहरी पोष्ट मालढुंगाको टोलीले टिपरको जाँच गर्नेक्रममा २५ वर्षीय सहचालक विशाल विक भागेर कालीगण्डकी नदीमा हाम फालेका थिए ।
राति करिब ११ बजे जलजला गाउँपालिकाबाट बागलुङतर्फ जाँदै गरेको ग १ क ५२४४ नम्बरको टिपरलाई प्रहरीले रोकेर खानतलासी गर्दा सहचालक विक भागेका थिए । उनी जलजला गाउँपालिका–८ नाङलीवाङका स्थानीय बासिन्दा हुन् ।
बेपत्ता भएका सहचालक विकका परिवारजनले प्रहरीले खानतलासीको बहानामा उनलाई मर्न बाध्य बनाएको आरोप लगाउँदै मंगलबार बिहानैदेखि पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध गरी नाराबाजी गरेका छन् । प्रहरीले बिहान सडकमा उत्रिएका आफन्तहरुलाई हटाउँदै केहीबेरका लागि सडक सञ्चालनमा ल्याएको थियो । तर त्यसपछि पुनः पटक–पटक सडक अवरोध हुँदै आएको छ ।
गएरातिदेखि नै जिल्ला प्रहरी कार्यालय पर्वत र सशस्त्र प्रहरी बल नेपाल नं. २५ गण हेडक्वार्टर चण्डिका गणबाट विपद् व्यवस्थापन टोली परिचालन गरी खोजीकार्य जारी राखिएको छ ।
सशस्त्र प्रहरी उपरीक्षक क्षितिज क्षेत्रीका अनुसार र्याफ्ट बोट तथा अन्य उद्धार सामग्रीसहित कालीगण्डकी किनारमा पुनः व्यापक खोजतलास भइरहेको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक मनोज खड्काको नेतृत्वमा गोताखोर टोलीसमेत परिचालन गरी खोजी कार्यलाई तीव्र बनाइएको सशस्त्र प्रहरी उपरीक्षक क्षेत्रीले बताए ।
'मोदीबेनी घाटसम्म र र्याफ्ट बोटबाट खोजी गर्यौं’, उनले भने, 'गोताखोरको टोलीले पनि हाम फालेको भनिएको मालढुंगा वरिपरी खोजी जारी राख्यो, फेला पार्न सकिएको छैन ।×’ पानी परेपछि तत्कालका लागि खोजीकार्य रोकिएको उनी बताउँछन् ।
