गैंडाकोटमा तीन सवारी एकआपसमा ठोक्किँदा १२ जना घाइते

बसमा सवार ९ जना यात्रु पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

चैत्र १६, २०८२

नवीन पौडेल

Twelve injured as three vehicles collide in Gaindakot

नवलपुर —  पूर्वी नवलपरासीको गैंडाकोटमा सोमबार भएको सवारी दुर्घटनामा १२ जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय इन्द्र तामाङ, हात्तीगाडी चालक चितवन भरतपुरका दर्शन काप्री र बस चालक बाँके नेपालगञ्जका मोहनसिंह बलामी मगर घाइते भएका छन्। उनीहरूको नयाँ मेडिकल कलेज, चितवनमा उपचार भइरहेको छ।

बसमा सवार ९ जना यात्रु पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully