आइतबार राति करिब १० बजेतिर सडकबाट ३–४ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ पामचोकको भित्री सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुइजना घाइते भएका छन्।
खुदीबाट भलामचौरतर्फ जाँदै गरेको ग १ त ५६४६ नम्बरको खाली ट्याक्टर आइतबार राति करिब १० बजेतिर सडकबाट ३–४ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर तीन जना घाइते भएकोमा ट्याक्टर चालक ताप्लेजुङ पाथीभरा याङ्वरक गाउँपालिका–१ घर भइ हाल मर्स्याङ्दी गाउँपालिका–९ क्षेत्र मिदिम हाइड्रोपावरको ट्रान्समिसन लाइनमा कार्यरत ३३ वर्षीय सुजन राईको मृत्यु भएको हो।
गम्भीर घाइते उनलाई उपचारका लागि बेंसीसहरस्थित प्रदेश अस्पताल लमजुङ ल्याइएकोमा उपचारको क्रममा सोमबार बिहान साढे ३ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् ।
घाइतेमध्ये ताप्लेजुङ फुङलिङ नगरपालिका–९ घर भई हाल मिदिम हाइड्रोपावरको ट्रान्समिसन लाइनमा कार्यरत ३२ वर्षीय दीपेश लिम्बूको टाउको तथा दुवै हातखुट्टामा चोट लागेको छ ।
अर्का घाइते ताप्लेजुङ घर भई हाल झापा बुद्धशान्ति गाउापालिका–४ बसोबास गर्दै सोही ट्रान्समिसन लाइनमा कार्यरत २६ वर्षीय सुमन राईको छाती र बायाँ हातमा चोट लागेको छ ।
दुवैजनाको बेंसीसहरस्थित प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । शव परीक्षणको लागि अस्पतालमा राखिएको र दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्र क्षेत्रीले जानकारी दिए ।
