दुई महिनाअघि मात्र उनी जेलबाट छुटेर बागलुङ आएका थिए ।
What you should know
बागलुङ —
साताअघि बागलुङ बजारमा छिटफुट रुपमा एक हजार रुपैयाँका नक्कली नोट भेटिएपछि अनुसन्धान थालेको प्रहरीले एक जना पक्राउ गरेको छ ।
एउटै नम्बरको एक हजारका नोटहरु प्रयोग गर्दै आएको आशंकामा बागलुङको काठेखोला गाउँपालिका २ घर भई सदरमुकाममा बस्दै आएका अधिवक्ता यामबहादुर चर्माकार पक्राउ परेका हुन् । उनको साथबाट पनि प्रहरीले नक्कली नोट भेटाएको थियो । आइतबार जिल्ला अदालत बागलुङले ७ दिनको म्याद थप गरेर चर्माकारलाई थप अनुसन्धान गर्न लागेको प्रहरीले बतायो ।
एक साताअघि बागलुङका तीन वटा बैंकमा एकैपटक एक हजारका नोट नक्कली भेटिएका थिए । ती नोट कसरी आए भन्ने अनुसन्धान क्रममा चर्माकारको कारोबार पत्ता लागेको बैंकका पदाधिकारीले बताए । ‘सुरुवातमा उनले मेडिकल पसलमा नक्कली नोट दिएर औषधि खरिद गरेको भेटिएको थियो,’ प्रहरी अनुसन्धानका एक सदस्यले भने, ‘अनुसन्धान बढाउँदा १६ थान नक्कली नोट भेटियो ।’ बजारमा भेटिएको समेत गर्दा १८ वटा नक्कली नोट बागलुङमा भेटिएका थिए । चर्माकारले प्रयोग गर्ने सबै नोटमा नम्बर भने एउटै छ ।
चर्माकार दुई वर्षदेखि बागलुङमा थिएनन् । उनलाई सरकारी कागजात किर्ते गरेको अभियोगमा भैरहवा प्रहरीले पक्राउ गरी थुनामा राखेको थियो । दुई महिनाअघि मात्र उनी जेलबाट छुटेर बागलुङ आएका थिए । झन्डै डेढ दशकदेखि कानुन व्यवसाय गर्ने चर्माकारले यसअघि पनि दलित छात्रवृत्ति रकम हिनामिना पारेको, मुद्दाका पक्षहरुलाई आर्थिक रुपमा दबाब दिएर चर्को शुल्क लिएको आरोप लाग्ने गरेको थियो ।
सरकारी कागजात किर्ते मुद्दामा समेत उनले सफाइ पाइसकेका छैनन् । पुन: बजारमा नक्कली नोट देखिएको र उनकै साथमा भेटिएपछि बलियो प्रमाणको रुपमा उनी पक्राउ परेको प्रहरीको भनाइ छ ।
उनकै सक्रियतामा झ ७९१६९०३३ नम्बरका नोटहरु बजारमा चलाइएको प्रहरीको भनाइ छ । ‘अनुसन्धानले के के पत्ता लाग्छ त्यो बाँकी छ, अहिलेलाई उहाँप्रति शंकास्पद गतिविधि देखिएपछि पक्रउ गरिएको हो,’ प्रहरी उपरीक्षक तिलक भारतीले भने, ‘अनुसन्धानले थप प्रमाण र अन्य व्यक्तिपनि पक्राउ पर्न सक्छन् ।’
उनले वा उनको सम्पर्कमा रहने व्यक्तिले नक्कली नोट कहाँ छापेका हुन् भन्ने पत्ता लाग्न बाँकी रहेको भारतीले बताए । बैंकका एक कर्मचारीका अनुसार ती नोटमा कागजको गुणस्तर कमजोर, राष्ट्रिय फूल, सुरक्षा चिह्न स्टिकर फरक पाइएको हो । त्यसपछि मात्र बैंकका कर्मचारी मार्फत यो सूचना प्रहरीमा पुगेपछि केही दिनदेखि प्रहरीले खोजी अभियान गरेको थियो । बिहीबार नियन्त्रणमा लिए पनि प्रहरीले आइतबार मात्रै यसबारे जानकारी गराएको हो ।
