लमजुङमा बन्चरो प्रहारबाट घाइते भएकामध्ये एकजनाको मृत्यु

बुधबार बिहान साढे ५ बजेतिर ४५ वर्षीय वकन गुरुङले आफ्नै घरमा श्रीमतीसहित ३ जनामाथि बन्चरो प्रहार गरेका थिए ।

चैत्र १३, २०८२

आश गुरुङ

One of those injured in axe attack in Lamjung dies

लमजुङ — लमजुङको दोर्दी गाउँपालिका–५ साँधीखोलामा बुधबार बिहान बन्चरो प्रहारबाट घाइते भएका ३ जनामध्ये एकजनाको मृत्यु भएको छ ।

बुधबार बिहान साढे ५ बजेतिर ४५ वर्षीय वकन गुरुङले आफ्नै घरमा श्रीमतीसहित ३ जनामाथि बन्चरो प्रहार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार बन्चरो प्रहारबाट गम्भीर घाइते ७२ वर्षीय गर्वलाल गुरुङको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको छ ।

बेंसीसहरस्थित प्रदेश अस्पताल लमजुङमा उपचार हुन नसकी नयाँ चितवन मेडिकल कलेज भरतपुर लगिएकोमा उपचार सम्भव नभएको भन्दै गर्वलाललाई फिर्ता पठाएको थियो । प्रदेश अस्पतालमा राखिएका उनको उपचारको क्रममा मृत्यु भएको डीएसपी बस्नेतले जानकारी दिए ।

वकनको बन्चरो प्रहारबाट घाइते उनका सालीका छोरा १० वर्षीय अनमोल गुरुङको नयाँ चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । वकनका श्रीमती ४५ वर्षीया चिजमाया गुरुङको प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चिजमायाको बायाँ हात र पेटमा साथै अनमोलको टाउकोमा चोट छ ।

प्रहरीका अनुसार अनमोल गुरुङ दम्पतीसँग बस्दै आएका थिए । उनीहरु दुवैजना पूर्वशिक्षक हुन् । गर्वलाल उनीहरुकै घरमा सामान्य काम गरी बस्दै आएका थिए । प्रहरीका अनुसार घरायसी विवादका क्रममा वकनले श्रीमतीमाथि प्रहार बन्चरो प्रहार गरेको र उनलाई बचाउन पुगेका अनमोललाई समेत बन्चरो प्रहार गरेका थिए । पछि गर्वलालमाथि पनि आक्रमण गरेका थिए ।

वकन केही महिनादेखि बिरामी रहेको र मानसिक समस्या देखिएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । उनका लागि पूजा गर्ने वा नगर्ने विषयमा समेत घरमा विवाद हुने गरेको स्थानीय स्रोतले बताएका छन् ।

प्रहरीले बुधबार नै वकनलाई पक्राउ गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान थालेको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully