चैते दसैं मेलालाई बजार झर्ने मौकाका रूपमा समेत यहाँका ग्रामीण क्षेत्रका बासिन्दाले लिने गरेका छन् । कामले फुर्सद नपाएका गृहिणीहरू पनि नाङ्लो, डाली र अन्य सामग्री किन्नका लागि समेत मेलामा आउने गरेको तमानखोलाकी वसन्ता घर्तीले बताइन् ।
What you should know
बागलुङ — चैते दसैंको अवसरमा बागलुङ कालिका मन्दिरमा हजारौं भक्तजन भेला भएका छन् । केही दिनदेखि नै दैनिक भीड लागेकामा बिहीबार हजारौंको भीड लागेको हो ।
बिहीबार २ लाख बढी भक्तजनले कालिका मन्दिरको दर्शन गर्ने र चैतेदसैंभर ५ लाख बढी भक्तजन आउने बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले अनुमान गरेको छ । बिहीबार बिहान ५ बजेदेखि दिउँसोसम्म पनि कालिका मन्दिरमा चार वटा लाइन बसेर सयौंले एकैपटक पूजा गरेका छन् ।
गुठीले एकैपटकमा धेरैलाई पूजा गर्न सक्ने व्यवस्थापन गरी कालिका मन्दिरका तीनवटै ढोका खुला गरिदिएको अध्यक्ष भूपेन्द्र खड्काले बताए । पूजासँगै कालिका मन्दिर आसपासमा लागेको मौलिक मेलामा पनि ठूलो भीड लागेको छ ।
यहाँ संचालित खुला पुरुष भलिबल, छेलो लगायतका प्रतियोगिता, दैनिक जीवनमा आवश्यक पर्ने ठेकी, डाला, नाङ्ला, कुटो–कोदालो, खुखुरी, खुँडाजस्ता सामग्री समेत बिक्रीका लागि राखिएको छ । वर्षभरि निर्माण गरिएका सामग्रीहरू ग्रामीण किसानले बेच्ने गर्छन् भने चैतेदसैंमा आउनेले ती सामान खरिद गरेर लैजाने चलन छ । झण्डै पाँच सय वर्षअघि स्थापना भएको बागलुङ कालिका मन्दिर (माई थान) मा लाग्दै आएको मौलिक मेलालाई गुठीले व्यवस्थापनको काम गरेको हो । 
सयौं सवारी साधनका कारण ट्राफिक जाम भएकाले जिल्लाको सुरक्षा निकायले सवारी व्यवस्थापनमा साथ दिएको छ भने सशस्त्र प्रहरी बलले यहाँ खानेपानीको व्यवस्थापन, नेपाल रेडक्रस सोसाइटी र सेनाको टोलीले प्राथमिक उपचार सेवा संचालन गरिरहेका छन् । शनिबारसम्म यो मेला लाग्नेछ ।
मेलाकै अवसरमा मौलिक दोहोरी, झाम्रे, सोरठी लगायतका गीत गाउने चलन छ । ठाउँठाउँमा मादल, खैजेरी बजाएर नाच्नेको पनि समूहहरू देखिएका छन् भने कालिका मन्दिर र आसपासमा भजनेहरू नाचेको देखिन्छ । सयौं पञ्चबलिसमेत यहाँ चढाउने गरिएकाले बलि व्यवस्थापन पनि गरिएको हो ।
चैते दसैं मेलालाई बजार झर्ने मौकाका रूपमा समेत यहाँका ग्रामीण क्षेत्रका बासिन्दाले लिने गरेका छन् । कामले फुर्सद नपाएका गृहिणीहरू पनि नाङ्लो, डाली र अन्य सामग्री किन्नका लागि समेत मेलामा आउने गरेको तमानखोलाकी वसन्ता घर्तीले बताइन् । यो मेलामा उनले गाउँगाउँबाट साथी, अभिभावक र छिमेकी बोलाएको बताइन् । राष्ट्रिय रूपमा ख्याति कमाएका वसन्त थापा, शिव परियार, प्रकाश सपुत, भूमिका गिरी लगायत कलाकार मेलामा आएका छन् ।
पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी राजकुमारी विश्रवादेवीसँग विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालिकालाई साथैमा ल्याएर यहाँ विधिपूर्वक स्थापना गरेको किंवदन्ती अनुसार विसं १५९१ देखि कालिका मन्दिर स्थापना गरेर नियमित मेला र पूजा सुरु भएको पाइन्छ । सोही कारण अहिलेसम्म पनि बागलुङ कालिकामा मौलिक मेला लाग्ने गरेको हो । कालिका मन्दिरमा पूजा गर्दा आँटेताकेको पुग्ने जनविश्वाससमेत छ ।
