पोखरामा ‘वाडा अटो सो’ सुरु

सुजुकी ई–भिटारा र एलिट मोटर्सको जेको जे सिक्स टी सार्वजनिक । पाँच दिनसम्म चल्ने प्रदर्शनीलाई करिब ४५ हजार अटोप्रेमीले अवलोकन गर्ने आयोजकको विश्वास छ ।

चैत्र ११, २०८२

दीपक परियार

'Wada Auto Show' begins in Pokhara

What you should know

पोखरा — यहाँको लेकसाइडस्थित वाराहीघाटमा ‘दोस्रो वाडा अटो सो–२०२६’ बुधबारदेखि सुरु भएको छ । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा) को आयोजना र नाडाको प्रस्तुतिमा १५ चैतसम्म चल्ने मेलाको उद्घाटन गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाश केसीले गरे । 

उद्घाटन सत्रमा बोल्दै मन्त्री केसीले अटोमोबाइल क्षेत्रले राजस्व र रोजगारीमा पुर्‍याएको योगदानको चर्चा गरे । वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाले मेलाको उद्देश्यबारे प्रष्ट पार्दै भने, ‘अटो व्यवसायीलाई एउटै छानामुनि भेला गराई सहज व्यावसायिक वातावरण निर्माण गर्नु र पोखराको आन्तरिक पर्यटनमा टेवा पुर्‍याउनु नै हाम्रो मुख्य लक्ष्य हो ।’

मेलामा २० वटा स्टलमा १६ वटा ब्रान्डका चारपांग्रे, ६ वटा ब्रान्डका लाइट कमर्सियल र १० वटा ब्रान्डका दुईपांग्रे सवारीसाधन प्रदर्शनमा राखिएका छन् । विशेष गरी विद्युतीय सवारीसाधन (ईभी) तर्फ ग्राहकको आकर्षण बढेको देखिन्छ । मेलाकै अवसर पारेर सुजुकीको आधिकारिक वितरक सिजी मोटोकर्पले आफ्नो पहिलो प्रिमियम इलेक्ट्रिक गाडी ‘सुजुकी ई–भिटारा’को बुकिङ खुला गरेको छ, जसको सुरुआती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

अटो सोमा एलिट मोटर्सले ओमोडा एन्ड जेकोको बहुप्रतीक्षित ‘जेको जे सिक्स टी’ सार्वजनिक गरेको छ । २२० एनएम टर्क र ४३१ किलोमिटर रेन्ज दिने दाबी गरिएको यस गाडीको प्रवर्द्धनात्मक मूल्य ६६ लाख ९९ हजार रुपैयाँ राखिएको छ । मेलामा हुन्डाई, बीवाईडी, टाटा, किया, एमजी, यामाहा र टिभीएस लगायतका प्रख्यात ब्रान्डका पछिल्ला मोडेलहरू पनि उपलब्ध छन् ।

प्रदर्शनीको अर्को मुख्य आकर्षण ४० वर्ष पुराना ‘भिन्टेज’ कार र आधुनिक रोबोटिक्स हुन् । बतास ब्रदर्सका सञ्चालक आनन्दराज बतासको सहयोगमा १० वटा पुराना गाडी प्रदर्शनीमा राखिएका छन् भने युनी ट्री जि–वान ह्युमानोइड जस्ता अत्याधुनिक रोबोटले दर्शकलाई नयाँ प्रविधिको अनुभव गराइरहेका छन् ।

वाडाका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक शिव श्रेष्ठका अनुसार मेला अवधिभर गाडी खरिद गर्दा ५० हजारदेखि १ लाख रुपैयाँसम्म छुट, बिमा र एसेसरिजमा विशेष सहुलियतको व्यवस्था गरिएको छ । पाँच दिनसम्म चल्ने यस प्रदर्शनीलाई करिब ४५ हजार अटोप्रेमीले अवलोकन गर्ने आयोजकको विश्वास छ । 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully