वन डढेलो नियन्त्रणमा सचेतना फैलाउन स्टिकर

गाउँदेखि सहरसम्म सचेतना फैलाउन सार्वजनिक बसमा सन्देशमूलक स्टिकर टाँस गर्दा सहज बनेको डिभिजन वन कार्यालयका वन अधिकृत अर्जुनबहादुर अच्छामीले बताए । बुधबार वाह्रकिलो लगायत क्षेत्रमा स्टिकर टाँस गरिएको छ ।

चैत्र ११, २०८२

हरिराम उप्रेती

Stickers to spread awareness about forest fire control

गोरखा — वन डढेलो न्युनीकरणको सचेतना फैलाउन सार्वजनिक यातायातका साधनमा स्टिकर टाँस गरिएको छ । डिभिजन वन कार्यालय गोरखाले मंगलबार र बुधबार ३० वटा बसमा वन डढेलो न्युनीकरणका सन्देश लेखिएको स्टिकर टाँस गरेको हो । 

गाउँदेखि सहरसम्म सचेतना फैलाउन सार्वजनिक बसमा सन्देशमूलक स्टिकर टाँस गर्दा सहज बनेको डिभिजन वन कार्यालयका वन अधिकृत अर्जुनबहादुर अच्छामीले बताए । ‘डढेलो नियन्त्रणको सप्ताहव्यापी सचेतना कार्यक्रम गर्दा माइकिङ गर्ने, अग्निरेखा निर्माण, सचेतना फैलाउने कार्य भइरहेको छ,’ उनले भने, ‘सबैखाले मानिस सार्वजनिक यातायात चढ्ने र सन्देशमूलक स्टिकरमा सबैको ध्यान पुग्ने भएकाले यसपटक सार्वजनिक बसमा सन्देशमूलक स्टिकर पनि टाँस गरेका हौं ।’ गोरखा हरमटारीको घ्याम्पेसाल बसपार्कबाट पुरानो बसपार्कसम्म पुगेर सार्वजनिक यातायातमा स्टिकर टाँस भएको पनि उनले बताए । बुधबार वाह्रकिलो लगायत क्षेत्रमा स्टिकर टाँस गरिएको छ । 

पोखरा, काठमाडौं, चितवन लगायतका लामो दूरी तथा जिल्लाभित्र सञ्चालन हुने छोटो दूरीका सार्वजनिक यातायातका साधननमा वन डढेलो न्यूनीकरणको सन्देशमूलक स्टिकर टाँस भएको पनि उनले बताए । स्टिकर टाँससँगै सन्देशमूलक ब्रोसर पनि वितरण गरिएको छ । ‘वन डढेलो नियन्त्रणमा सघाउ पुर्‍याउने खालका ब्रोसर पनि वितरण गर्‍यौं, डढेलो लागिहालेमा कसरी नियन्त्रण गर्ने, डढेलोले वन, वनस्पतीमा कसरी नोक्सान पुर्‍याउँछ, मानवीय वासस्थान र दैनिकीमा कस्तो असर पुर्‍याउँछ जस्ता विषयवस्तुमा पनि सचेतना प्रदान गरेका छौं,’ उनले भने ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully