घटनापछि प्रहरी चौकी श्रीमञ्जाङबाट प्रहरी हवल्दार प्रदीप कुमालको कमाण्डमा खटिएको टोलीले घाइतेहरूलाई तत्काल प्रदेश अस्पताल लमजुङ पठाएको थियो।
लमजुङ — लमजुङको दोर्दी गाउँपालिका–५ साँधीखोलामा बन्चरो प्रहार हुँदा श्रीमतीसहित तीन जना गम्भीर घाइते भएका छन्।
बुधबार बिहान ५:३० बजे ४५ वर्षीय वकन गुरुङले आफ्नै घरमा श्रीमतीमाथि बन्चरो प्रहार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार गुरुङको प्रहारबाट ४५ वर्षीया चिजमाया गुरुङ, उनका सालीका छोरा १० वर्षीय अनमोल गुरुङ र छिमेकी ७२ वर्षीय गर्वलाल गुरुङ घाइते भएका छन्। चिजमायाको पेट र बायाँ हातमा तथा अन्य दुई जनाको टाउकोमा गम्भीर चोट लागेको छ। तीनै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
अनमोल उनीहरूसँग बस्दै आएका थिए भने गर्वलाल पनि केही दिनदेखि सोही घरमा बस्दै आएका थिए ।
घटनापछि प्रहरी चौकी श्रीमञ्जाङबाट प्रहरी हवल्दार प्रदीप कुमालको कमाण्डमा खटिएको टोलीले घाइतेहरूलाई तत्काल प्रदेश अस्पताल लमजुङ पठाएको थियो। चिजमायाको बेँसीसहरस्थित प्रदेश अस्पतालमै उपचार भइरहेको छ भने अन्य दुई जनालाई थप उपचारका लागि चितवन मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा संलग्न गुरुङलाई बन्चरोसहित नियन्त्रणमा लिएको जनाएको छ। घटनास्थल प्रहरी चौकी श्रीमञ्जाङ र गाउँपालिका केन्द्र नौथर शेराबाट करिब ५ किलोमिटर पश्चिममा पर्छ।
प्रहरीका अनुसार घरायसी विवादका क्रममा श्रीमतीमाथि प्रहार गरिएको र उनलाई बचाउन पुगेका अनमोल तथा पछि पुगेका गर्वलालमाथि पनि आक्रमण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
गुरुङ केही महिनादेखि बिरामी रहेको र मानसिक समस्यासमेत रहेको अनुमान प्रहरीको छ। बिरामीका लागि पूजा गर्ने वा नगर्ने विषयमा समेत घरमा विवाद हुने गरेको स्थानीय स्रोतले बताएका छन्।
वकनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
