पर्वतमा जिप दुर्घटना : चालकको मृत्यु

जिप चालक फलेवास नगरपालिका-५ खानीगाउँ निवासी ३५ वर्षीय सज्जन परियारको मृत्यु

चैत्र १०, २०८२

सुमनजंग थापा

Jeep accident in Parbat: Driver dies

पर्वत — पर्वतको फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकखण्डमा सोमबार साँझ ग.१ ज ८०२९ नम्बरको बोलेरो पिकअप जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । 

दुर्घटनामा जिप चालक फलेवास नगरपालिका-५ खानीगाउँ निवासी ३५ वर्षीय सज्जन परियारको ज्यान गएको हो । उपचारकै क्रममा राति ८:४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको सशस्त्र प्रहरी बल, नेपाल नं.२५ गण हेडक्वार्टर चण्डिकाका गणपति सशस्त्र प्रहरी उपरीक्षक क्षितिज क्षेत्रीले बताए ।

उनका अनुसार गम्भीर घाइते भएका चालकलाई चण्डिका गण पर्वतबाट सप्रनि धर्मबहादुर थापाको कमान्डमा खटिएको १३ जनाको उद्धार टोलीले जिपबाट निकालेर तत्काल उपचारका लागि प्रदेश अस्पताल कुस्मा पुर्‍याएको थियो ।

साँझ करिब ७ बजे कुश्माबाट युरिया मल लिएर फलेवासतर्फ जाँदै गर्दा जिपको ब्रेक फेल भई सडकबाट अन्दाजी ३० मिटर तल खसेको सशस्त्र प्रहरी उपरीक्षक क्षेत्रीले बताए । जिपमा चालक मात्र सवार रहेका थिए । 

सुमनजंग सुमन कान्तिपुरका पर्वत संवाददाता हुन् । उनी समसामयिक विषयमा समाचार लेख्ने गर्छन् ।

Link copied successfully