माथिल्लो क्षेत्रमा शुक्रबार दिउँसोदेखि हिमपात भएको हो ।
What you should know
लमजुङ — मनाङमा हिमपात सुरु भएको छ । सदरमुकाम चामेको वरिपरिदेखि माथिल्लो क्षेत्रमा शुक्रबार दिउँसोदेखि हिमपात भएको हो ।
माथिल्लो मनाङका व्यवसायी सगर गुरुङका अनुसार माथिल्लो मनाङ गाउँमा दिउँसो करिब ४ बजेदेखि हिउँ परिरहेको छ । हिउँ पर्न थालेपछि चिसो पनि बढेको उनले बताए । ‘हिउँ परेपछि चिसो केही बढेको छ । तर, पहिलेको जस्तो चिसो छैन । घाम लागेपछि एकछिनमै बिलाउँछ,’ उनले भने ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार चक्रीय अन्नपूर्ण पदमार्गको माथिल्लो मनाङ क्षेत्रमा हिउँ परेको छ । हिउँ परेको समय पर्यटकलाई सुरक्षितका साथ आवतजावत गर्न भनिएको उनले बताए ।
‘धेरै नै प्रभावित हुने गरी हिउँ परेको त होइन । तर, पनि हिउँ पर्न थालेपछि सुरक्षित साथ जहाँको त्यहीँ बस्नु राम्रो । पर्यटकलाई त्यही भनेका छौँ,’ उनले भने । उनका अनुसार माथिल्लो मनाङमा शुक्रबार मात्रै ५० जनाको हाराहारीमा विदेशी पर्यटक प्रवेश भएका छन् ।
जिल्ला प्रहरी प्रमुख डीएसपी हरिप्रसाद पौडेलले सदरमुकाम चामेदेखि माथिल्लो क्षेत्रमा हिउँ परिरहेको बताए । उनका अनुसार हिउँ परे पनि सडक भने खुल्ला रहेको छ । ‘हिउँ परिरहेको छ । अहिलेसम्म बाटो बन्द भयो भन्ने जानकारी छैन,’ उनले भने । उनका अनुसार नार्पाभूमितिर पनि हिउँ परिरहेको छ ।
प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले सदरमुकाम चामेमुनी पानी परेको र माथिल्लो क्षेत्रमा हिउँ परेको बताए । ‘चामे वरिपरि भित्तातिर हिउँ परेको छ । चामेमै चाहिँ हिउँ परेको छैन, पानी परेको छ,’ उनले भने । उनका अनुसार वरपर हिउँ पर्नुका साथै पानी पर्न थालेपछि तापक्रम घटेको उनले बताए । उनका अनुसार शुक्रबार साँझ पौने ६ बजेतिर सदरमुकाम चामेको तापक्रम मनाइस २ डिग्री देखाएको छ ।
![Snowfall in the upper reaches of Manang [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/manang-himpat-3-2032026012448-1000x0.jpg&w=1001&h=0)