विद्युतगृहमा रहेको २५/२५ मेगावाटको दुइवटा फ्रान्सिस टर्बाइनमध्ये युनिट १ को पूर्ण रुपमा मर्मत थालिएको आयोजनाले जनाएको छ ।
लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनामा जडित एउटा टर्बाइन बन्द गरेर उच्चस्तरीय मर्मत थालिएको छ ।
विद्युतगृहमा रहेको २५/२५ मेगावाटको दुइवटा फ्रान्सिस टर्बाइनमध्ये युनिट १ को पूर्ण रुपमा मर्मत थालिएको आयोजनाले जनाएको छ । युनिट २ बाट २५ मेगावाट जलविद्युत् उत्पादन भइरहेको छ । अहिले २८ देखि ३० मेगावाट उत्पादन हुँदै आएकोमा युनिट २ बाट २५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।
मर्स्याङ्दीमा पानीको बाहव कम भइरहेको बेला नेपाल विद्युत् प्राधिकरणसँगको अनुमतिमा आयोजनाले मर्मत थालेको हो । यद्यपी आयोजनाले यसलाई नियमित मर्मत भनेको छ । हरेक ३/३ वर्षमा टर्बाइन मर्मत गर्दै आएकोमा गतवर्ष युनिट २ को उच्चस्तरीय मर्मत गरिएको आयोजना स्रोतले बतायो । अब अर्को वर्ष कुनै समस्या नआएमा दुवै टर्बाइन मर्मत नहुने आयोजना स्रोतले बताएको छ ।
आयोजनाका दोभाषे दयाराम दाहालका अनुसार शनिबारदेखि मर्मत सुरु भएको छ । यो कार्य डेढ महिना चल्ने उनले बताए । ‘आयोजनाको टर्बाइन मर्मतमा चिनियाँ ईन्जिनियर र प्राविधिक खटिएका छन् । उनीहरुकै उच्च तहका ईन्जिनियरहरुको परामर्श र सुपरभिजनमा मर्मत कार्य सुरु गरिएको छ,’ उनले भने ।
आयोजनाको मर्मतकार्य आयोजना निर्माण गरेको चिनियाँ कम्पनी सिनो हाइड्रोको ब्यूरो–सेभेनले गरिरहेको छ । ब्यूरो–सेभेनले अहिले मनाङमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
‘मनाङ मर्स्याङ्दीको निर्माण गरिरहेको ब्यूरो–सेभेनका इन्जिनियर प्राविधिकहरुले माथिल्लो मर्स्याङ्दी ‘ए’ आयोजनाको मर्मत गरिरहेको छ,’ आयोजना स्रोतले भन्यो । मर्मतका लागि नेपाली सहयोगी टोली पनि खटिएका छन् ।
माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् चिनियाँ लगानीबाट नेपालमा पहिलोपटक निर्मित जलविद्युत् आयोजना हो । आयोजनाले वार्षिक करिब ३३ दशमलव ५ गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने गर्छ । अर्ध जलाशययुक्त आयोजनामा बर्खाको समय नदीमा मिसिने पहिरो, ढुंगा, माटो तथा बालुवाका कणले टर्बाइनमा असर गर्ने गर्छ ।
करीब १६ अर्ब रुपैयाँ लगानीमा निर्मित माथिल्लो मर्स्याङ्दी ‘ए’ जविद्युत् आयोजनामा चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपालको चितवन कोइ समूह (सगरमाथा हाइड्रोपावर कम्पनी) को १० प्रतिशत लगानी छ ।
सन् २०१३ को जनवरीमा सुरु भएर ४ वर्षमा निर्माण सकिएपछि आयोजनाले २०१७ जनवरीबाट व्यवसायिक विद्युत् उत्पादन थालेको थियो ।
