‘जनताको चुलो निभ्न दिँदैनौं’

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्ने, अत्यधिक मूल्य वृद्धि गरेको भेटिएमा कानुनको दायरामा ल्याउने र चुलो बलेन भने उपभोक्ताको घरमा ग्यास लगिदिने बताएका छन् ।

चैत्र २, २०८२

प्रकाश बराल

'We will not let the people's stove go out'

What you should know

बागलुङ — बजारमा कृत्रिम रूपमा एलपी ग्यास र खाने तेल लगायतका सामग्रीको अभाव देखिएको हल्लापछि यहाँको प्रशासनले जनताको चुलो निभ्न नदिने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्ने, अत्यधिक मूल्य वृद्धि गरेको भेटिएमा कानुनको दायरामा ल्याउने र चुलो बलेन भने उपभोक्ताको घरमा ग्यास लगिदिने बताए । जिल्ला विपत् व्यवस्थापन समिति र जिल्ला आपूर्ति व्यवस्थापन समितिको बैठकमार्फत आचार्यले उक्त जानकारी गराएका हुन् । 

उपभोक्ताको हितलाई ध्यानमा राखेर काम गर्न जिल्लाका सबै पालिका, कार्यालय, व्यवसायीसमेतलाई उनले सुझाव दिएका छन् । ‘अनावश्यक रूपमा ग्यास र तेल भण्डारण गरेर लुकाइएको रहेछ भने कारबाही गर्छौं,’ उनले भने, ‘अत्यावश्यक परेको नागरिकको चुलो बाल्न हामी जान्छौं ।’ त्यसका लागि जिल्लामा आवश्यक पर्ने सामग्रीको आधारभूत संख्या यकिन गर्ने, भण्डारण क्षमता अध्ययन गरेर वितरण प्रणालीलाई पनि पारदर्शी बनाउने उनले बताए । जिल्ला विपत् व्यवस्थापन समिति र जिल्ला आपूर्ति व्यवस्थापन समितिका बैठकले यस्तो निर्णय गरेको आचार्यको भनाइ छ । 

विपत् व्यवस्थापनको पूर्वतयारी र नागरिकको दैनिकीमा आइरहेको जटिलताबारे स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सुरक्षा निकायका प्रमुख, सरोकार राख्ने सबै खाले कार्यालयका प्रतिनिधिसमेतले छलफल गरेर आगामी दिनमा कुनै पनि समस्या आउन नदिने गरी काम गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । 

दैनिक उपभोग्य बस्तुको उपलब्धताबारेमा भने सक्दो प्रयास गरेर सहजीकरण गर्ने निर्णय गरेपछि हरेक पसल, फर्म र सम्भावित स्थलको सूक्ष्म अनुगमन भएको सहायक प्रजिअ नवराज बरालले जानकारी दिए । उनका अनुसार बजार अनुगमनलाई प्रभावकारी बनाउने, सदरमुकाम मात्र नभइ जिल्लाभरिका उपभोक्ताको अवस्था बुझ्ने, साना र ठूला व्यवसायीको गोदाम अनुगमन गरेर जनतालाई समतामूलक रूपमा सामग्रीको उपलब्धता गराउने निर्णय भएको बरालले बताए । 

पेट्रोलियम पदार्थको मूल्यमा भएको घटीबढीलाई लिएर जनतालाई सास्ती दिने काम नगर्न सल्लाह दिने निष्कर्ष निकालिएको बडीगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले बताइन् । बजारमा मूल्य बढाउने, सामान नपाउने जस्ता काममा प्रशासनिक रूपमा सहजीकरण गरिनुपर्ने सुझाव पनि दिइएको उनको भनाइ छ । मूल्य बढ्ने र त्यसको तयारी स्वरूप अत्यावश्यक सामान नपाउने अवस्था भैरहेको सरोकारवालाको गुनासो छ ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully