लमजुङमा अब एक घरलाई एउटामात्र ग्यास

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालका अनुसार खाना पकाउने ग्यास बिक्री–वितरण गर्दा ‘पहिला आउनेलाई पहिला सेवा’ प्रणाली लागू गर्ने र ग्राहकको अभिलेख राखेर एक परिवारलाई एकपटकमा एउटामात्र सिलिन्डर दिने व्यवस्था गरिएको छ।

चैत्र २, २०८२

आश गुरुङ

Now only one gas per household in Lamjung

What you should know

लमजुङ — खाना पकाउने ग्यासको कृत्रिम अभाव हुन नदिन लमजुङमा एक परिवारलाई एकपटकमा एउटामात्र ग्यास सिलिन्डर उपलब्ध गराइने भएको छ ।

ग्यास डिलर, डिपो तथा विक्रेताले ग्राहकको नागरिकता नम्बर वा परिचय खुल्ने कागजातका आधारमा नाम, ठेगाना र फोन नम्बरको अभिलेख राखेर एक परिवारलाई एउटामात्र ग्यास सिलिन्डर उपलब्ध गराउने व्यवस्था गरिएको हो ।

लमजुङमा आइतबारदेखि आधा भरिएको सिलिन्डरको ग्यास बिक्री–वितरण सुरु गरिएको छ । ग्यासको मूल्य प्रति सिलिन्डर १ हजार रुपैयाँभन्दा बढी लिन नपाउने गरी जिल्ला प्रशासन कार्यालयमा आयोजित सर्वपक्षीय बैठकमा छलफल भएको एक जना व्यवसायीले बताए ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले खाना पकाउने ग्यास बिक्री–वितरण गर्दा ‘पहिला आउनेलाई पहिला सेवा’ प्रणाली लागू गर्ने निर्णय गरिएको बताए । उनका अनुसार ग्राहकको सबै विवरण अभिलेख राखेर व्यवसायीले ग्यास वितरण गर्ने र एउटै परिवारलाई एकपटकमा एउटामात्र सिलिन्डर दिने व्यवस्था गरिएको छ ।

त्यस्तै सुत्केरी वा गर्भवती महिला, अपांगता भएका व्यक्ति, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक रहेको परिवार तथा भाडामा बस्ने विद्यार्थीलाई स्थानीय वडा कार्यालयको सिफारिसका आधारमा पहिलो प्राथमिकतामा ग्यास उपलब्ध गराउने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतमले जानकारी दिए ।

उनका अनुसार ग्यास बिक्री–वितरणका क्रममा कालोबजारी, बढी मूल्यमा बिक्री तथा एकै परिवारले आवश्यकता भन्दा बढी ग्यास संकलन गर्ने गतिविधि रोक्न स्थानीय तहका वडा सदस्यलाई अनुगमनको जिम्मेवारी दिइनेछ । ग्यास बिक्री स्थलको सुरक्षा व्यवस्था नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा मिलाउने निर्णय गरिएको छ ।

यसैगरी ग्यास डिपोहरूले आफूले खरिद गरेको र खुद्रा विक्रेतालाई उपलब्ध गराएको सिलिन्डरको विवरण सुरक्षित राखेर जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउनुपर्ने निर्णय गरिएको छ । साथै ग्यास भित्रिने सूचना प्रहरी, प्रशासन र सम्बन्धित वडा कार्यालयलाई अग्रिम जानकारी गराउनुपर्नेछ । अग्रिम नाम टिपाएकालाई विक्रेतामार्फत नियमित ग्यास उपलब्ध गराइने र हालका लागि नयाँ सिलिन्डरको बिक्री–वितरण रोक्ने निर्णय गरिएको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully