गोरखामा माइक्रो दुर्घटनाको छानबिन समिति गठन

प्रदेश अस्पताल गोरखामा पोष्टमार्टमपछि भारतीय राजदुतावासमार्फत परिवारलाई शव जिम्मा लगाउने तयारी गरिएको छ ।

चैत्र १, २०८२

हरिराम उप्रेती

Micro accident investigation committee formed in Gorkha

गोरखा — मनकामना–आँबुखैरेनी सडक खण्ड अन्तरगत शनिबार सहिद लखन गाउँपालिका–३ कान्टारमा भएको माइक्रो बस दुर्घटनाबारे छानबिनका लागि समिति गठन गरिएको छ । 

गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेश ट्राफिक प्रहरी प्रमुख दानबहादुर थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । छानबिन समितिले दुर्घटनाको कारणबारे प्रतिवेदन तयार पार्ने जिल्ला प्रहरी गोरखाका प्रहरी प्रमुख एसपी भरतबहादुर विकले जानकारी दिए । 

मनकामना मन्दिर दर्शन गरेर फर्कँने क्रममा १–००६ ख ८४३० नम्बरको विद्युतीय माइक्रो शनिबार साँझ दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा ९ जना घाइते भएका छन् । मृतक सातै जना भारतीय नागरिक हुन् ।

५८ वर्षीय मुतु कुमार र अनामलिक, ५९ वर्षीया मिनाक्षी, ५३ वर्षीय सिवगामी, ५७ वर्षीय विजायल, ५८ वर्षीया मिना र ६० वर्षीय तमिलारशीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरुको आइतबार साँझ प्रदेश अस्पताल गोरखामा पोष्टमार्टम गरिएको छ । पोष्टमार्टम पश्चात भारतीय राजदुतावासमार्फत शव आफन्तको जिम्मा लगाइने एसपी विकले बताए । 

ओरालो बाटोमा ब्रेकको समस्याले माइक्रो दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारभ्भिक अनुमान गरेको छ । माइक्रोमा चालक र सहचालकबाहेक सबै यात्रु भारतीय नागरिक थिए । दुर्घटनामा घाइते बनेका ९ जनाको भने आबुखैरेनी अस्पतालमा उपचार पश्चात थप उपचारका लागि शनिबार नै पुरानो मेडिकल कलेज रिफर गरिएको छ । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully