ताराखोलाबाट ल्याएका ढुंगाले सदरमुकामका अधिकांश घरका भित्ता सजिएका छन् । विद्यालय, क्याम्पस र मठमन्दिर पुग्ने बाटामा पनि ताराखोले ढुंगा छापिएका छन् ।
What you should know
बागलुङ — प्लास्टर गरेर रंगरोगन गरेको भन्दा ढुंगा छापेर बनाइएका घर आर्कषक देखिन्छन् । गाउँमा उत्खनन् गरिएका ढुंगा छापेर घर, होटल र मठमन्दिर चिटिक्क बनाउने क्रम समेत बढेको छ ।
यस्ता आर्कषक ढुंगा यहाँको ताराखोलामा पाइन्छ । ग्रामीण किसानले आफ्नै खरबारीमा पाइने ढुंगा उत्खनन् गरेर कुँदेपछि बजारमा पठाउने गरेका छन् । गाउँ पुग्ने अधिकांश ट्रयाक्टरले ताराखोला गाउँपालिकाका बस्तीहरुबाट तिनै ढुंगा बोकेर बागलुङ र पोखरा पुग्ने गरेका छन् ।
कतिपय गाडी त ढुंगा बोकेर बुटवल र लुम्बिनीसम्म पनि पुग्छन् । ताराखोलाबाट ल्याएका ढुंगाले सदरमुकामका अधिकांश घरका भित्ता सजिएका छन् । विद्यालय, क्याम्पस र मठमन्दिर पुग्ने बाटामा पनि ताराखोले ढुंगा छापिएका छन् ।
यहाँको प्रसिद्ध बागलुङ कालिका मन्दिर जाने सडकदेखि शालीग्राम संग्राहलय र रंगवेंकटेश्वर मन्दिर, तित्याङ र उपल्लाचौरका शिवालय समेतमा ताराखोले ढुंगा बिच्छ्याएको देख्न सकिन्छ । बजारका अधिकांश घर पनि ती ढुंगा छापेर बनेका छन् ।
सदुमरकामको ट्राफिक चोकका ऋषि रेग्मीले घरको बाहिरी भित्तामा ढुंगा छापेका छन् । दुई/तीन थरी रंग लगाउने खर्चले घरमा ताराखोलाका ढुंगा टाँसेको उनले बताए । ढुंगा टाँस्ने काम रंग भन्दा सस्तो र टिकाउ भएको उनले बताए । होटल पिस प्यालेसका संचालक निलेस राजभण्डारीले दशकअघिनै होटलको आँगनमा ताराखोले ढुंगा छापेका थिए । ती ढुंगाले सफा र आर्कषक मात्र नभइ सिमेन्ट भन्दा बलियो समेत भएको उनको अनुभव छ ।
बागलुङ सदरमुकामदेखि ६० किलोमिटर पश्चिमको ताराखोलाबाट सहरी क्षेत्रमा प्रशस्त ढुंगा निकासी हुने गर्छ । त्यहाँ उत्खनन् गरिने ढुंगा घर छाउने, भित्तामा टाँस्ने र आँगन तथा सडक छाप्ने काममा पनि प्रयोग गरिन्छ । पोखराका अधिकांश घरमा पनि आजकल ताराखोले ढुंगा पुगेका छन् । ताराखोलाबाट लगेर डिपो संचालन गर्नेले पोखराको बजारमा प्रशस्त ढुंगा बेचेका छन् ।
ताराखोलादेखि बुटवल, सैनामैना र सालझण्डीकालागि दैनिक जिप र पिकअप चल्न थालेपछि तराइका बजार र घरघरमा पनि ताराखोले ढुंगा पुग्न थालेको छ । रुपन्देहीको सालझण्डी, सैनामैना, कपिलवस्तुको पिपरा, गोरुसिंगे र तिलौराकोटका बस्तीमा समेत बागलुङको ताराखोले ढुंगा छ्यापछ्याप्ती देखिन थालेको हो ।
बागलुङको गलकोट, ताराखोला, बडिगाड, ढोरपाटनसम्मका मानिस बसाइँसरेर गएकाहरुले ताराखोले ढुंगा लगेर तराइको बस्तीमा प्रचार गरेका हुन् । उनीहरुको सम्पर्ककै कारण तराइका होटलमा ताराखोले ढुंगाले स्थान पाउन थालेको स्थानीय बताउँछन् ।
म्याग्दीको बेनी नगरपालिका–३ घर भइ कपिलवस्तुको पिपरामा होटल गरेर बसेका नारायण महतले होटलमा ताराखोलाको ढुंगा लगेर फराकिलो आँगन छापेको बताए । उनको सम्पर्कले तिलौराकोटका अधिकांश घर र होटलमा पनि ताराखोले ढुंगा प्रयोगमा आउन थालेको हो । ‘गाईफार्म गर्नेले समेत ढुंगा बिच्छाउन पोखराका डिपोबाट मगाएका छन्,’ उनले भने, ‘कतिपयले ताराखोलाबाटै ट्रयाक्टर रिर्जभ गरेर ल्याउँछन् ।’
पोखराको डिपोबाट ल्याउँदा प्रति वर्गफिट ढुंगाको दुई सय रुपैयाँ पर्छ । ताराखोलाबाट सिधैं लगेमा १ सय ५० सम्ममा पाइने उनले बताए । ढुंगाको आर्कषणले फोटो खिच्नकालागि पनि होटलमा पाहुना आउन थालेको उनको अनुभव छ । पोखरामा घर बनाएकी गलकोटकी दुर्गा हमालले पनि ताराखोलाकै ढुंगा बिच्छाएको बताइन् । ती ढुंगाले घर आर्कषक हुने र बलियो समेत भएको उनले बताइन् ।
ताराखोला गाउँपालिकाले स्थानीय सरकार संचालन ऐनको दफा ११ को उपदफा २ (क) अनुसार ढुंगा गिटी वालुवा, माटो खरिढुंगा प्राकृतिक एवं खानीजन्य बस्तु बिक्री निकासी, शुल्क लिएर साना उद्योग संचालन अनुमति दिएको छ । सोही ऐनको उपदफा २ (प) ७ मा ढुंगाखानी, वालुवा, स्लेट जस्ता खानीजन्य बस्तुको सर्भेक्षण, उत्खनन्, उपयोगको दर्ता, अनुमति दिने, नविकरण गर्ने र व्यवस्थापन गर्ने अधिकार पनि स्थानीय तहलाई दिएकोले खानी संचालन गर्न दिंदा ठूला सहरमा पनि सामान बिक्री भएको बिक बताउँछन् ।
ताराखोला गाउँपालिकाले उद्योग दर्ता नियमाबली समेत बनाएपछि बिक्री समेत बढेको हो । ‘हामीलाई २० रोपनीसम्मको नीजि जग्गाको ढुंगा उत्खनन् गर्न उद्योगको रुपमा दर्ता गरिदिने अनुमति खानी विभागले दिएको छ,’ गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले भने, ‘यो नियम र निर्देशिका टेकेर १३ उद्योग दर्ता भएर संचालनमा आएका छन् ।’ वातावरणीय प्रभाव मूल्यांकन गरेर ती उद्योग संचालन गर्न दिएको उनले बताए । सार्वजनिक जग्गाको खानी संचालनकालागि भने संघीय सरकारको अनुमति चाहिन्छ ।
प्रशासनले भने संघीय कानुन देखाएर ती उद्योगलाई खानी भन्दै बेलाबेला अवरोध गर्ने उनले टिप्पणी गरे । ताराखोला गाउँपालिका–५ का चरण घर्तीले बजार पठाउँदा प्रशासनल बेलाबेला अवरोध गरेको उनले बताए । अधिकांशले आफ्नै खेतबारी र पाखोका ढुंगा काटेर बजारीकरण गर्दा पालिकालाई पनि राजश्व बढेको छ । एउटा उद्योगले १० देखि १२ जनालाई रोजगारी दिएको उनले बताए ।
पिके स्टोन सप्लायर्स खोलेका पृथ्वी सुवेदीले पनि सुरुवातमा झन्झट खेपेको बताए । अहिले भने बुटवल र पोखराको बजारमा पठाएर कमाइ गर्न थालेको उनको अनुभव छ । तीन वर्षअघि ताराखोलाकै ओमप्रकाश घर्तीले घरेलुमा दर्ता गरेको उद्योग चलाउन समेत नपाएर फाइल फिर्ता गरेको गुनासो गरे । ‘प्रक्रियामै ५० हजार खर्चेपछि खानी विभागले दर्ता नगर्दा फाइल फिर्ता भएको थियो,’ उनले भने, ‘गाउँपालिकाको पहलपछि उद्योग संचालन गर्न संभव भएको छ ।’ ताराखोलाका उद्यमीले घर बनाउँदा प्रयोग हुने ढुंगा उत्खनन् गरेर बजारमा पठाउन उद्योग दर्ता गरेका हुन् । उनीहरुले ढुंगा कुँदेर घरमा आर्कषक बनाउन टायल जस्तै निर्माण गर्दै आएका छन् ।
गाउँपालिकामै कर तिर्ने गरी साना उद्योग संचालनको अनुमति दिएपछि मात्र उद्यमीले राहत पाएको विकले बताए । पालिकाले निकासी कर समेत लिने व्यवस्था गरेको छ । गाउँपालिकाले वर्षमा ढुंगा निकासी करबाट १५ लाख रुपैयाँ कमाएको छ । घर छाउने, टायल र मार्बल जस्तै बनाउन मिल्ने ढुंगा प्रशस्त भएकोले धेरै किसानले कर तिरेर उद्योग चलाएका हुन् ।
