पश्चिम एसियामा जारी युद्धका कारण देखाउँदै लमजुङमा पनि ग्यास अभाव भएको व्यवसायीहरु बताउँछन् ।
लमजुङ — एकजना ३ महिने सुत्केरी बेंसीसहरको एउटा पसलमा एकबिहानै ग्यास खोज्न आइन् । पसलेले ग्यास छैन भनेर फर्काएपछि उनी ढोकामै रुन थालिन् । किनकि ग्यास अभावमा उनले साँझ पनि नखाइकन बसेकी थिइन् ।
पसलेले आवश्यक पर्दा चाहिन्छ भनेर राखेको एउटा ग्यास झिकेर कामदारलाई पठाउन लगाए । एकजना सेवाग्राहीले बिहीबार र शुक्रबार दिनभर बेंसीसहर बजारमा ग्यास खोज्दा पनि पाएनन् । एकजना साथीले खोजिदिएपछि उनले शुक्रबार साँझपख सुन्दरबजार पुगेर ग्यास ल्याए ।
उपभोक्ताहरुका अनुसार व्यवसायीले ग्यास दिएका छैनन् । पश्चिम एसियामा जारी युद्धका कारण देखाउँदै लमजुङमा पनि ग्यास अभाव भएको व्यवसायीहरु बताउँछन् । उनीहरुका अनुसार पहिलेको तुलानामा ग्यास कम आएका छन् । आएको ग्यास पनि खोसाखोस भएर सकिन्छ । उनीहरुका अनुसार केही उपभोक्ताले आवश्यकभन्दा बढी ग्यास लगेका कारण अत्यावश्यक ग्राहक समस्यामा परेका छन् ।
मनाङ मर्स्याङ्दी ग्रुपमा अध्यक्ष ईश्वरप्रसाद श्रेष्ठले ग्यास आउनेबित्तिकै खोसाखोस हुने र तत्काल सकिएर पछि आउने उपभोक्ताले नपाउने गरेको बताए । ‘कम्पनीबाट पहिलेको तुलानामा कम आएको छ । यहाँ खोसाखोस छ, अहिले त अभावै भइसक्यो,’ उनले भने ।
‘अबदेखि सिलिन्डरमा आधा भरिएको ग्यास आउने तयारी छ । अब अत्यावश्यकले ग्यास लैजालान् । आधा ग्यास कस्ले लान्छ र भन्ने ग्राहक पनि अब भेटिन्छन्,’ उनले भने । उनका अनुसार कम्पनीबाट मासिक ३ हजार बढी ग्यासको विक्री हुँदै आएको छ ।
व्यवसायी प्रभुराम प्रधानका अनुसार ग्यास आउनेबित्तिकै खोसाखोस हुन्छ । ‘बाहिर युद्धका कारण ग्यास अभाव हुने भनेर कतिपयले आवश्यक नभई यत्तिकै ग्यास लाने गरेका छन्, कतिपयले ग्यासको मूल्य बढ्ने हल्ला चलाएर आवश्यकभन्दा बढीले लाने गरेका छन्, यो मेरो अनुमान हो,’ उनले भने ।
३ वटा कम्पनीको ग्यास बिक्री गरिरहेका उनले मासिक ३ हजारभन्दा बढी ग्यास विक्री हुने गरेकोमा पछिल्लो समय ग्यासको माग हृवात्तै बढेको बताए । ‘आजमात्रै ३ सय २४ सिलिन्डर आएको थियो । आउनेबित्तिकै कता पुग्यो कता,’ उनले भने, ‘भोलिदेखि आधा भरिएको सिलिन्डर आउने भनेका छन्, अब कति लिन आउँछन्, त्यसपछि थाह हुन्छ ।’
उनले भने मागअनुसार ग्यास पुर्याउन नसकिएको बताए । ‘युद्धका कारण माथिबाटै ग्यास कम आएको छ । यहाँ ग्यास नआउने हल्ला र भाउ बढ्छ भनेर थुपारेर लगिएको बुझिन्छ,’ उनले भने ।
लमजुङ उद्योग वाणिज्य संघका महासचिव वीपिन श्रेष्ठले विक्रेताले सबै ग्यास उपभोक्तालाई दिइसकेको र उपभोक्ताले नपाएको गुनासो गरिरहेको बताए । ‘अहिले बजारमा ग्यासको अभाव छ । उपभोक्ताले चाहिनेभन्दा बढी ग्यास लानु भएन,’ उनले भने ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको अनावश्यक भण्डारण नगर्न र नगराउन सचेत गराएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतमद्वारा जारी सूचनामा आजका मितिसम्म पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको आपूर्ति सहज रुपमा भइरहेको जनाएको छ । केही व्यक्ति तथा खुद्रा विक्रेताहरुले बढी मूल्यमा बेच्ने वा संचय गर्ने उद्देश्यले चाहिनेभन्दा बढी परिमाणमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास भण्डारण गरी लुकाई राखेको भन्ने गुनासो प्राप्त भएको सूचनामा उल्लेख छ ।
सूचनामा नेपाल आयल निगमले आधा सिलिन्डर ग्यास बजारमा पठाउन सुरु गरेको भन्दै सूचनामा कोही कसैले पनि अनावश्यक रुपमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको अनावश्यक भण्डारण नगर्न, पेट्रोल पम्पहरुले सवारी साधनमा बाहेक ड्रम, जर्किन, बोत्तल लगायतका भाडाहरुमा पेट्रोलियम पदार्थ विक्री वितरण नगर्न तथा कृत्रिम अभाव सिर्जना गरी बढी मूल्य लिएर पेट्रोलियम पदार्थ र ग्यासको बिक्री वितरण नगर्न अनुरोध गरिएको छ ।
‘सूचनाको बर्खिलापमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरेमा कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम कडा कारवाही गरिने छ’ सूचनामा उल्लेख छ ।
