गत २५ फागुनमा पोखराको पृथ्वीचोकमा पुस्तक बिक्री गरिरहेका पुन र उनको टोलीमाथि अपशब्द प्रयोग गरी दुर्व्यवहार गर्ने कास्कीकै ४३ वर्षीय विकास गुरुङलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
पोखरा — पोखरामा महावीर पुनमाथि अभद्र व्यवहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत २५ फागुनमा पोखराको पृथ्वीचोकमा पुस्तक बिक्री गरिरहेका पुन र उनको टोलीमाथि अपशब्द प्रयोग गरी दुर्व्यवहार गर्ने कास्कीकै ४३ वर्षीय विकास गुरुङलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
कास्कीको पोखरा महानगरपालिका–१३, बाँझापाटन घर भएका गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले महेन्द्रपुल क्षेत्रबाट पक्राउ गरेको हो । पुनले आफ्नो जीवनीमा आधारित पुस्तक ‘महावीर पुन: सम्झना, सपना र अविरल यात्रा’ बिक्री गरिरहेका बेला भएको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले सूक्ष्म अनुसन्धान थालेको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेका गुरुङको आपराधिक पृष्ठभूमि समेत रहेको पाइएको छ । 'प्रहरी अभिलेखअनुसार निज गुरुङ यसअघि पनि तीनपटक लागुऔषध मुद्दामा सजाय पाइसकेका व्यक्ति हुन्,' डीएसपी बस्नेतले जानकारी दिए । प्रहरीले उनीमाथि अभद्र व्यवहारको मुद्दामा थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र निर्वाचित पुनले किताब बेचिरहेको स्थलमा पुगेर कुरा गर्न खोजेका गुरुङलाई धकेलिदिएपछि गुरुङले 'सांसद भएर किन किताब बेचेको, कानुन बनाउन जानुपर्दैन ?' भन्दै दुर्व्यवहार गरेका थिए । पुनले विगत केही दिनयता पोखराका विभिन्न चोकमा बसेर किताब बेचिरहेका छन् ।
