लमजुङमा जिपले च्याप्दा चालकको मृत्यु

लमजुङको दोर्दी गाउँपालिका –४ लामिडाँडास्थित भित्री सडक खण्डमा मंगलबार बिहान भएको दुर्घटनामा परेर चालक छिमेकी गाउँ ठूलाखेतका २९ वर्षीय कुमार गुरुङको मृत्यु भएको हो ।

फाल्गुन २६, २०८२

आश गुरुङ

Driver dies after being crushed by jeep in Lamjung

लमजुङ — पार्किङ गरेर राखेको जिपलाई स्टार्ट गरेर ओट निकाल्ने क्रममा एक्कासि पछाडि गुडेको जिपले च्याप्दा चालकको मृत्यु भएको छ ।

लमजुङको दोर्दी गाउँपालिका –४ लामिडाँडास्थित भित्री सडक खण्डमा मंगलबार बिहान भएको दुर्घटनामा परेर चालक छिमेकी गाउँ ठूलाखेतका २९ वर्षीय कुमार गुरुङको मृत्यु भएको हो ।

प्रहरीलाई बिहान ११:२० बजेतिर दुर्घटनाबारे खबर आएको र १२:५० बजेतिर बेंसीसहरस्थित प्रदेश अस्पताल लमजुङ ल्याइएको थियो । चिकित्सकले दिउँसो  १:०५ बजेतिर मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ग १ ज ७०९२ नम्बरको बालेरो जिप आमा समूहको भवन नजिक पार्किङ गरेर राखिएको र जिप स्टार्ट गरेर ओट निकाल्ने क्रममा अचानक पछाडि गुड्दा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार जिपको पछाडिको भागले चालक गुरुङलाई च्यापेपछि उनको छाती र दुवै हातमा गम्भीर चोट लागेको थियो । घाइते गुरुङलाई तत्काल उपचारका लागि सोही जिपमा राखेर प्रदेश अस्पताल लमजुङ ल्याइएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक पाण्डेले बताए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully