रास्वपा, कांग्रेस र नेकपाबाहेक अन्य सबै उम्मेदवारले सदर मतको १० प्रतिशत कटाउन सकेनन्
गोरखा — गोरखाको दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका १९ जनाको जमानत जफत भएको छ। सदर मतको १० प्रतिशत मत नल्याउने नेकपा एमालेका गोरखा–१ का उम्मेदवार आरसी लामिछाने र गोरखा–२ का उम्मेदवार मिलन गुरुङ (चक्रे मिलन) सहित १९ जनाको जमानत जफत भएको हो।
रास्वपा, कांग्रेस र नेकपाबाहेक अन्य सबै उम्मेदवारले सदर मतको १० प्रतिशत कटाउन नसकेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले बताए। गोरखा–१ मा १२ र गोरखा–२ मा १३ उम्मेदवार रहेका थिए।
गोरखा–१ मा ६१ हजार ३ सय ९० मत सदर भएको थियो। एमाले उम्मेदवार रामचन्द्र लामिछाने (आरसी) ले ३ हजार ७ सय ३२ मत मात्र ल्याएका छन्। ४९८ मत ल्याएका उज्यालो नेपाल पार्टीका रामकाजी राना मगर, ३१० मत ल्याएका केदारमणि खनाल, १६५ मत ल्याएका संयुक्त नागरिक पार्टीका जितबहादुर घले, १४२ मत ल्याएका मंगोल नेसनल अर्गनाइजेसनका देवबहादुर थापा, ५७ मत ल्याएका नेकपा (माओवादी) का विष्णु प्रसाद रिजाल, ३५ मत ल्याएका नेसनल रिपब्लिक नेपालका आकाश राना मगर, २३ मत ल्याएकी स्वतन्त्र उम्मेदवार कविता भट्टराई र १९ मत ल्याएकी नेपाल मजदुर किसान पार्टीकी मनुकुमारी श्रेष्ठको जमानत जफत भएको छ।
त्यस्तै गोरखा–२ मा ३ हजार ८७ मत ल्याएका नेकपा एमालेका मिलन गुरुङ (चक्रे मिलन), ६ सय ३९ मत ल्याएका उज्यालो नेपाल पार्टीका बलराम तामाङ, २९२ मत ल्याएका राप्रपाका कुलबहादुर बस्नेत, २९० मत ल्याएका मंगोल नेसनल अर्गनाइजेसनका सोमबहादुर गुरुङ, १३० मत ल्याएका नेकपा माओवादीका टेकबहादुर प्रधान, १११ मत ल्याएका नेशनल रिपब्लिक नेपालका प्रसाद गुरुङ, ८० मत ल्याएका स्वतन्त्र उम्मेदवार चुडाप्रसाद ढकाल, ४१ मत ल्याएकी आम जनता पार्टीकी कल्पना कुमाल, ३० मत ल्याएका नेपाल मजदुर किसान पार्टीका रामशरण बुढाथोकी, १४ मत ल्याएका स्वतन्त्र उम्मेदवार हरि पोखरेलको जमानत जफत भएको छ। ५७ हजार १ सय ५६ मत खसेको गोरखा–२ मा ५४ हजार १ सय ४७ मत सदर भएको थियो।
