ढोरपाटन नगरपालिका–७, ८ र ९ मा ५० जना भन्दा बढी बालबालिका दादुराबाट संक्रमित भएका छन् । संक्रमण फैलन नदिन फागुन २७ सम्म विद्यालय बिदा दिइएको हो ।
बागलुङ — दुई सातादेखि गाउँमा दादुराका बिरामी बढेपछि ढोरपाटन नगरपालिकाको संक्रमण फैलिएको गाउँका विद्यालय थप तीन दिन विदा दिइएको छ । निर्वाचनका कारण आइतबारसम्म बन्द रहेका विद्यालय नगरपालिकाले बुधबारसम्म बन्द रहने सूचना गरेको हो ।
ढोरपाटन नगरपालिका–७, ८ र ९ मा अघिल्लो सातादेखि दादुरा संक्रमण फैलिएको छ । नगर शिक्षा अधिकारी तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत पुष्पक दाहालले सूचना प्रकाशित गरी बुधबारसम्म विद्यालय बन्द रहने जनाएका छन् ।
यो गाउँमा ५० जना भन्दा बढी बालबालिका दादुराबाट संक्रमित भएका छन् । संक्रमण बढ्न नदिन फागुन २५ देखि २७ सम्म बिदा दिइएको हो । सन् २०२६ भित्र देशबाटै दादुरा रुबेला रोग निर्मुल पार्ने अभियान संचालन भैरहेको बेला ढोरपाटन नगरपालिका–७, ८ र ९ का अधिकांस बालबालिकामा दादुरा रोग देखिएको हो ।
दादुराको संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनका चिकित्सकसहितको टोली आइतबार ढोरपाटन पुगेको थियो । ‘जनस्वास्थ्य समस्याको बारेमा चासो बढेपछि विश्व स्वास्थ्य संगठन, संघीय स्वास्थ्य मन्त्रालयको टोलीसहित र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठक समेत ढोरपाटनमा पुग्नुभएको छ,’ प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले भने, ‘सबै खाले अध्ययन अनुसन्धान गर्दै उपचारकालागि आइसोलेसन समेत बनाइएको छ ।’
धौलागिरि अस्पतालका चिकित्सकसहित जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्मा समेत पुगेर गाउँघरमै बिरामीको उपचार गरेका छन् । त्यस्तै ढोरपाटन नगरपालिकाको बुर्तिवाङ अस्पतालमा पनि आइसोलेसन थप गरिएको छ । आइसोलेसन निर्माणकालागि ५० बेड गण्डकी प्रदेश सरकारले सहयोग गरेको छ । ‘बिरामीलाई आइसोलेसनमा राखेर उपचार गरेपछि अन्यत्र संत्रमण हुँदैन,’ शर्माले भने, ‘बिरामीको उपचारसँगै संक्रमणको कारण खोज्ने काम पनि भैरहेको छ ।’ दादुरा संक्रमण हुनेमा अधिकांस १० देखि २० वर्ष उमेर समूहका छन् । उनीहरु अधिकांस विद्यालय पढ्नेहरु छन् । बोबाङ गाउँ शैक्षिक र स्वास्थ्यमा पछि परेको थियो ।
