रास्वपाका भुसाल फराकिलो मतान्तर बनाउँदै

हालसम्म २५ हजार मत गणना हुँदा भुसालले ११ हजार १ सय ११ मत प्राप्त गरेका छन् भने उनलाई कांग्रेसका अर्जुनप्रसाद जोशीले ६ हजार ४८ मतका साथ पछ्याइरहेका छन् ।

फाल्गुन २२, २०८२

सुमनजंग थापा

Rashtriya Swayamsevak Sangh's Bhusal is creating a wide margin of votes

पर्वत —  

जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । शुक्रबार दिउँसो १२ बजेदेखि सुरु भएको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सागर भुसाल फराकिलो मतान्तरसहित अघि बढिरहेका छन् ।

हालसम्म २५ हजार मत गणना हुँदा भुसालले ११ हजार १ सय ११ मत प्राप्त गरेका छन् । वडाअनुसार मतगणना भइरहेको र हालसम्म गणना भएका अधिकांश वडामा उनले अग्रता कायम राखेका हुन् ।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले ६ हजार ४८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार पदम गिरीले ५ हजार ४ सय ८० मत पाएका छन् । यस्तै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मनहरि शर्माले १ हजार २ सय ५७ मत प्राप्त गरेका छन् ।

मतगणना चार स्थानमा भइरहेको र रातभर पनि जारी रहने प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार भोलि बिहानसम्म निर्वाचनको अन्तिम परिणाम आउने अनुमान गरिएको छ ।

पर्वतमा यसपटक ५३.१८ प्रतिशत मत खसेको थियो। जिल्लामा कुल १ लाख २५ हजार ४ सय ६६ मतदाता रहेकामा ६६ हजार ७ सय २७ मत खसेको थियो। जसमध्ये ३२ हजार २ सय ११ महिला र ३५ हजार २ सय १६ पुरुष मतदाताले मतदान गरेका थिए।

सुमनजंग सुमन कान्तिपुरका पर्वत संवाददाता हुन् । उनी समसामयिक विषयमा समाचार लेख्ने गर्छन् ।

Link copied successfully