झोबाङ मतदान केन्द्रको सितला मावि मतदानस्थलमा मतदान गरी घर फर्कने क्रममा जिप दुर्घटना भएको गाउँपालिका अध्यक्ष विष्णु केसीले जानकारी दिए ।
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिकामा मतदान गरेर फर्किएका मतदाता बोकेको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
कास्कीको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत अन्नपूर्ण गाउँपालिका-३ लुँएरामा बिहीबार जिप दुर्घटना भएको हो । झोबाङ मतदान केन्द्रको सितला मावि मतदानस्थलमा मतदान गरी घर फर्कने क्रममा जिप दुर्घटना भएको गाउँपालिका अध्यक्ष विष्णु केसीले जानकारी दिए ।
जिप दुर्घटनामा घाइते भएका ६ जनामध्ये दुई जनाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये लुँएराकी ४५ वर्षीया बालकुमारी विकको अवस्था गम्भीर छ ।
क्षमताभन्दा बढी यात्रु बोकेको जिपका चालकले ओरालो बाटोमा रोकेर सिट मिलाउन खोज्दा दुर्घटना भएको अध्यक्ष केसीले बताए । 'ओरालोमा रोकेर यात्रु मिलाउन खोज्दा जिप तलतिर बगेर पल्टिएछ,' उनले भने, 'दुई जनाबाहेक सबै सामान्य उपचार पछि घर फर्किएका छन् ।' स्थानीय र सुरक्षाकर्मीले घाइतेको उद्धार गरी अस्पताल पुर्याएका थिए ।
