मतदानलाई तम्तयार कास्की

महिला मतदाताको संख्या धेरै रहेको कास्कीका तीन निर्वाचन क्षेत्रमा कुल ३ लाख ८ हजार ५ सय ७२ मतदाता रहेका छन् । जसमा १ लाख ६० हजार १ सय ५३ महिला र १ लाख ४८ हजार ४ सय १५ पुरुष मतदाता छन् ।

फाल्गुन २०, २०८२

दीपक परियार

Kaski prepares for voting

पोखरा — प्रतिनिधिसभा निर्वाचनका लागि कास्की जिल्लामा मतदानको सम्पूर्ण तयारी पूरा भएको छ । बिहीबार बिहान ७ बजेबाट सुरु हुने मतदानका लागि जिल्लाका १ सय ५३ मतदानस्थल र ३ सय ६५ मतदान केन्द्रहरूमा निर्माण कार्य सम्पन्न भइसकेको छ ।

महिला मतदाताको संख्या धेरै रहेको कास्कीका तीन निर्वाचन क्षेत्रमा कुल ३ लाख ८ हजार ५ सय ७२ मतदाता रहेका छन् । जसमा १ लाख ६० हजार १ सय ५३ महिला र १ लाख ४८ हजार ४ सय १५ पुरुष मतदाता छन् ।

निर्वाचनका लागि जिल्लाभर १८ राजनीतिक दल र ६ स्वतन्त्र गरी कुल ४९ उम्मेदवार चुनावी मैदानमा छन् । क्षेत्र नम्बर १ मा १६ दल र १ स्वतन्त्र, क्षेत्र नम्बर २ मा १२ दल र ५ स्वतन्त्र तथा क्षेत्र नम्बर ३ मा १५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । आम नागरिकबाहेक कारागारका ३३ कैदीबन्दीका लागि जिल्ला कारागार र २ हजार ८ सय कर्मचारीका लागि जिल्ला समन्वय समितिमा गरी दुईवटा अस्थायी मतदान केन्द्रको समेत व्यवस्था गरिएको छ ।

Kaski prepares for voting

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले ५६ मतदान स्थललाई अति संवेदनशील, ५४ लाई संवेदनशील र ४३ स्थललाई सामान्य सूचीमा राखेर सुरक्षा योजना बनाएको छ । सुरक्षाका लागि १ हजार ४२ नेपाल प्रहरी, १ हजार ९ सय ९७ निर्वाचन प्रहरी, ६ सय ३० नेपाली सेना र ९ सय ४४ सशस्त्र प्रहरी (एपीएफ र निर्वाचन प्रहरी) परिचालन गरिएको छ ।

मतदानस्थलको सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी रहनेछन् भने बाहिरी घेरामा सशस्त्र प्रहरी र नेपाली सेना तैनाथ हुनेछन् । सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालका अनुसार नेपाली सेनाको प्रत्येक निर्वाचन क्षेत्रमा कम्पनी स्तरको कमान्ड फोर्स र मोबाइल टोली रहनेछ, जुन आवश्यकता परेको खण्डमा १५ मिनेटभित्रै सम्बन्धित स्थलमा पुग्ने गरी व्यवस्था मिलाइएको छ ।

Kaski prepares for voting

निर्वाचनलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले इन्स्पेक्टरको कमान्डमा गाउँपालिकामा दुई र महानगरमा चार मोबाइल टिम खटाएको छ भने सशस्त्र प्रहरीका २४ मोबाइल टिम, ९ स्ट्राइकिङ टिम र ३ वटा सुरक्षा बेस राखिएको छ ।

साथै आकस्मिक अवस्थाका लागि सेनाको बम डिस्पोजल टोलीलाई समेत तयारी अवस्थामा राखिएको छ । मतदान केन्द्रमा महिला, पुरुष र अशक्तका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ । समग्र निर्वाचन प्रक्रिया सम्पन्न गर्न कास्कीमा २ हजार १ सय ८४ कर्मचारी र १ हजार ९२ स्वयंसेवक परिचालन गरिएको छ ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully