लमजुङमा मतगणनास्थलको सुरक्षार्थ तारजाली लगाइयो 

जिल्ला समन्वय समितिको सभाहलमा गरिने मतगणना कार्यलाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउन विशेष सुरक्षा व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फाल्गुन १९, २०८२

आश गुरुङ

Wire mesh installed for security at vote counting site in Lamjung

लमजुङ — लमजुङमा मतगणनास्थलको सुरक्षालाई ध्यानमा राख्दै तारजाली लगाइएको छ । 

सदरमुकाम बेंसीसहरस्थित जिल्ला समन्वय समितिको सभाहलमा गरिने मतगणना कार्यलाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउन विशेष सुरक्षा व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतगणनास्थलको सुरक्षाका लागि मुख्य गेट र मञ्चमा गरी दुई स्थानमा सीसी क्यामरा जडान गरिएको छ । मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार मतगणना अत्यन्त संवेदनशील प्रक्रिया भएकाले कुनै पनि किसिमका अवाञ्छित गतिविधि, विवाद वा हस्तक्षेप हुन नदिन सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै तारजाली जडान गरिएको हो ।

सभाहलको स्टेज प्रवेश गर्ने ढोकादेखि भित्र जाने स्थानसम्म आधा भागमा तारजाली लगाइएको छ । सोही तारजालीलाई घुमाएर मूल ढोकासम्म पुर्‍याइएको छ, जसले मतगणना क्षेत्रलाई बाह्य आवतजावतबाट स्पष्ट रूपमा छुट्याएको छ । सभाहलभित्र म्याट ओछ्याएर मतगणनाका लागि छुट्टै स्थान तयार पारिएको छ, जहाँ तीनवटा स्थानमा एकैपटक मतगणना हुने व्यवस्था मिलाइएको छ ।

मतगणनास्थल बाहिर उम्मेदवार, उम्मेदवारका प्रतिनिधि तथा सम्बन्धित सरोकारवालाहरू बस्नका लागि कुर्सीको व्यवस्था गरिएको छ । यसले उनीहरूलाई मतगणना प्रक्रिया अवलोकन गर्न सहज बनाउने तर प्रत्यक्ष हस्तक्षेप गर्न नसक्ने वातावरण तयार गरेको छ ।

यस्तै, मुख्य निर्वाचन अधिकृतको कार्यालयका दुईवटा कोठामा मतपेटिका राखिने व्यवस्था गरिएको छ । ती दुवै कोठामा सुरक्षार्थ दुई–दुईवटा सीसी क्यामरा जडान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको नियमित कार्य भने सभागृह हलको मञ्च नजिकैबाट सञ्चालन गरिनेछ, जसले मतगणनास्थलमै बसेर आवश्यक समन्वय र निर्णय लिन सहज हुने जनाएको छ ।

ढकालका अनुसार तारजाली जडान गर्नुको उद्देश्य मतपत्र र मतपेटिकाको भौतिक सुरक्षा सुनिश्चित गर्नु, अनावश्यक भीड नियन्त्रण गर्नु, सम्भावित विवाद र धकेलाधकेल रोक्नु, मतगणनामा संलग्न कर्मचारीलाई सुरक्षित वातावरण प्रदान गर्नु तथा समग्र मतगणनाप्रति सबै पक्षको विश्वास कायम राख्नु हो । उनले मतगणना निर्वाचनको सबैभन्दा संवेदनशील चरण भएकाले सानो कमजोरीले पनि ठूलो विवाद निम्त्याउन सक्ने भन्दै सुरक्षा व्यवस्था मजबुत बनाइएको बताए ।

निर्वाचन कार्यालयका अनुसार मतगणना सुरु भएदेखि अन्तिम नतिजा सार्वजनिक नहुन्जेलसम्म सुरक्षा निकायको निरन्तर उपस्थिति, सीसी क्यामराको निगरानी तथा तारजालीको व्यवस्था कायम रहनेछ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully