स्याङ्जाका दुई मतदान केन्द्र महिला नेतृत्वमा

पुतलीबजार नगरपालिका–३ काजीमान हरिटीका माध्यमिक विद्यालय र आँधीखोला गाउँपालिका–५ स्थित सरस्वती आधारभूत विद्यालय, सेतिदोभान मतदान केन्द्रमा महिला नेतृत्व र टिम खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फाल्गुन १९, २०८२

प्रतीक्षा काफ्ले

Two polling stations in Syangja are led by women

What you should know

स्याङ्जा — आसन्न निर्वाचनलाई लक्षित गर्दै स्याङ्जाका दुई मतदान केन्द्र महिलाको पूर्ण नेतृत्वमा सञ्चालन हुने भएका छन् । 

पुतलीबजार नगरपालिका–३ काजीमान हरिटीका माध्यमिक विद्यालय र आँधीखोला गाउँपालिका–५ स्थित सरस्वती आधारभूत विद्यालय, सेतिदोभान मतदान केन्द्रमा महिलाकै नेतृत्व र महिलाकै टिम खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

काजीमान हरिटीका मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा डा. सुप्रिया पौडेल नेतृत्वमा रहेकी छन् । सहायक मतदान अधिकृत तथा कर्मचारीमा शान्तिकुमारी पराजुली, विन्दु गौतम, शोभा रेग्मी, संगम लम्साल र चुना गोदार खटिएका छन् । उक्त केन्द्रलाई महिलामैत्री अवधारणाअनुसार व्यवस्थापन गरिएको जनाइएको छ । महिला मतदातालाई सहज वातावरणमा मतदान गर्ने वातावरण तयार पारिएको अधिकृत पौडेलले जानकारी दिइन् । 

त्यसैगरी सरस्वती आधारभूत विद्यालय, सेतिदोभान मतदान केन्द्रमा पनि महिलाकै टोली परिचालन गरिएको छ । मतदान अधिकृत राजवती नेपाली नेतृत्वमा बुद्धमाया ब्लन, लक्ष्मीदेवी शर्मा, संगीता कुमाल, गीता पाण्डे र विष्णुकुमारी पोखरेलको टिम खटिएको छ ।

कर्मचारी खटाउने क्रममा सरस्वती आवि केन्द्रमा महिलाकै टिम संयोग परेको निर्वाचन कार्यालयले जनायो । महिलाकै सक्रिय सहभागिताले निर्वाचन व्यवस्थापन थप जिम्मेवार र समावेशी बनेको स्थानीय तहले जनाएको छ । निर्वाचनलाई मर्यादित, सुरक्षित र समावेशी बनाउने उद्देश्यसहित महिलाकै टिम परिचालन गरिएको बताइएको छ ।

स्याङ्जाका दुई निर्वाचन क्षेत्रमा कुल २ लाख ४८ हजार ८ सय १६ मतदाता  छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं १ मा १ लाख ३० हजार ८ सय ८६ मतदाता छन् । जसमध्ये ६४ हजार ७ सय ७५ पुरुष, ६६ हजार १ सय १० महिला र १ अन्य मतदाता छन् । उक्त क्षेत्रमा १ सय ८ मतदान स्थल र १ सय ७१ मतदान केन्द्र तोकिएका छन् । जसमा अस्थायी मतदान केन्द्रका रूपमा जिल्ला कारागार राखिएको छ ।

त्यसैगरी, निर्वाचन क्षेत्र नं २ मा १ लाख १७ हजार ९ सय ३० मतदाता रहेका छन् । यसमध्ये ५७ हजार ६ सय ८९ पुरुष, ६० हजार २ सय ४१ महिला छन् । यहाँ ९१ मतदान स्थल र १ सय ५१ मतदान केन्द्र निर्धारण गरिएको छ ।

प्रतीक्षा

Link copied successfully