लमजुङमा एउटा अस्थायीसहित १ सय ३० मतदान स्थलमा १ सय ९३ मतदान केन्द्र छन् । निर्वाचनमा १ हजार १ सय ५० जना कर्मचारी खटिएका छन् ।
What you should know
लमजुङ — लमजुङका सबै मतदान केन्द्रमा मतदान अधिकृत, कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेका छन् । मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार सोमबार रातीसम्म जिल्लाका सबै केन्द्रमा आवश्यक जनशक्ति र सामग्री पुर्याइएको हो ।
आइतबार र सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट कर्मचारीलाई नियुक्तिपत्र वितरण गरिएको थियो । त्यसपछि जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचन सामग्रीसहित कर्मचारी तथा जिल्ला प्रहरी कार्यालयबाट बन्दोबस्तीका सामग्रीसहित खटिएको प्रहरी टोली सम्बन्धित केन्द्रमा पुगेको हो ।
दूधपोखरी, दोर्दी, क्व्होलसोथार गाउँपालिका साथै राइनास र मध्यनेपाल नगरपालिकाकास्थित मतदान केन्द्रका मतदान अधिकृतलाई सामग्री वितरण गरिएको थियो । नजिकका बेसीसहर र सुन्दरबजार नगरपालिका साथ मर्स्याङ्दी गाउँपालिकाका लागि सोमबार सामग्री पठाइएको जिल्ला निर्वाचन अधिकारी यादवराज आचार्यले जानकारी दिए ।
लमजुङमा एउटा अस्थायीसहित १ सय ३० मतदान स्थलमा १ सय ९३ मतदान केन्द्र छन् । निर्वाचनमा १ हजार १ सय ५० जना कर्मचारी खटिएका छन् । प्रत्येक मतदान केन्द्रमा ६ जनाका दरले र ३ सयभन्दा कम मतदाता भएका ५ केन्द्रमा ५ जनाका दरले कर्मचारी खटाइएका छन् । हरेक केन्द्रमा २ देखि ३ जना स्वयंसेवक परिचालन गरिनेछन् ।
जिल्ला प्रहरी प्रमुख डीएसपी जितेन्द्रकुमार श्रेष्ठका अनुसार एउटा मतदान स्थलमा ३ देखि ५ सम्म नेपाल प्रहरी र ५ देखि १० जनासम्म निर्वाचन प्रहरी खटिएका छन् । उनले नेपाल प्रहरी वन्दोबस्तीका सामग्रीसहित सोमबार साँझसम्म मतदान केन्द्रमा पुगिसकेको बताए ।
निर्वाचनमा खटिएका कर्मचारीमध्ये १ सय ४० जना संघीय, ८६ जना प्रदेश सरकारका, ५ सय ५६ जना स्थानीय तहका र ७८ जना सार्वजनिक संस्थानका कर्मचारी छन् । यस्तै, २ सय ९० जना प्राथमिक तहका शिक्षक रहेका छन् ।
लमजुङमा ११ राजनीतिक दल र एक स्वतन्त्र गरी १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । कुल १ लाख ३७ हजार १ सय २४ मतदाता छन् । त्यसमध्ये ६९ हजार ५ सय २४ महिला र ६७ हजार ६ सय पुरुष हुन् । अघिल्लो निर्वाचनको तुलनामा मतदाता संख्या ३ हजार ४ सय ७ ले बढेको छ ।
