निर्वाचन सामग्रीसहित मनाङको फु गाउँमा खटिए कर्मचारी र प्रहरी

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार नार्पाभूमि गाउँपालिकाका-४ र ५ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित ५/५ जना कर्मचारी र १०/१० जना प्रहरी खटिएका छन् ।

फाल्गुन १७, २०८२

आश गुरुङ

Employees and police deployed to Phu village in Manang with election materials

What you should know

लमजुङ —  

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा कर्मचारीसहित प्रहरी खटिन सुरु भएकाे छ । नार्पाभूमि गाउँपालिका-४ र ५ का लागि कर्मचारी र प्रहरी सदरमुकाम चामेबाट आइतबार त्यसतर्फ लागेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए ।

उनका अनुसार नार्पाभूमि गाउँपालिकोका-४ र ५ को मतदान केन्द्रमा गरी मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित ५/५ जना कर्मचारी र १०/१० जना प्रहरी खटिएका छन् । यसमा निर्वाचन प्रहरीसमेत छन् । फु गाउँका दुईवटै मतदान केन्द्र अति संवेदनशील मानिएकाले थप प्रहरी परिचालन गरिएको उनले बताए ।

नार्पाभूमि गाउँपालिका-१, धर्मशालामाथि जमेको छहरा फोडेर एक साताअघि बाटो बनाएपछि च्याखु र मेता चौकीका प्रहरी पुगेका छन् । जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डीएसपी हरिप्रसाद पौडेलका अनुसार नार्पाभूमि गाउँपालिकाको चुनावी सुरक्षार्थ प्रहरी निरीक्षक मोहन जैरुको नेतृत्वमा थप प्रहरी पनि खटिएका छन् ।

प्रमुख जिल्ला अधिकारी पौड्यालले फु गाउँको मतदान केन्द्रमा जाने दुई टिम आइतबार मेता गएर बस्ने र सोमबारमात्रै फु गाउँ पुग्ने बताए । उनले नारका तीनवटा मतदान केन्द्रका लागि कर्मचारीसहित प्रहरी सोमबार सदरमुकाम चामेबाट हिँड्नेछन् । ‘नार जाने टिम र फु जाने टिम एकैदिन पठाउन हुन्थ्यो । एकैपटक जाँदा बाटोमा बस्न समस्या हुने भयो । त्यसैले आज फु जाने टिम र भोलि नार जाने टिम जाने भयो ।’ उनका अनुसार यसअघि नै नेपाली सेना र सशस्त्र प्रहरी खटिइसकेका छन् ।

जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्ति-पत्र बुझेपछि कर्मचारीलाई निर्वाचन सामग्री हस्तान्तरण सुरु गरिएको छ । फुका दुईवटै केन्द्रका सबै कर्मचारीलाई निर्वाचन सामग्री हस्तान्तरण गरिएको र नारका तीनवटै केन्द्रका कर्मचारीलाई निर्वाचन सामग्री हस्तान्तरण भइरहेको उनले बताए ।

जिल्ला सुरक्षा समितिका अनुसार नार्पाभूमि भूगोल चीनको स्वसाशित क्षेत्र तिब्बतसँग जोडिएको, उच्च हिमाली क्षेत्रमा रहेको, सदरमुकामबाट हिँडेर पुग्न दुई  दिन लाग्ने, ती मतदान केन्द्र हालसम्म सडक सञ्जालसँग नजोडिएको, भौगोलिक विकटता, गोरेटो बाटोको असहजतालगायतले नार्पाभूमि गाउँपालिकाका पाँचवटै मतदान केन्द्र अति संवेदनशील सूचीमा छन् ।

नार्पाभूमि गाउँपालिका–१ को वडा कार्यालय भवन, वडा नं २ को नार आधारभूत विद्यालय, वडा नं ३ को साम्डुछिरिङ गुम्बा, वडा नं ४ को फू आधारभूत विद्यालय र वडा नं ५ को वडा कार्यालय भवनमा मतदान केन्द्र छन् । नार्पाभूमि गाउँपालिकामा कुल ४ सय ८८ मतदाता छन् ।

कुल ७ हजार मतदाता रहेको मनाङमा महिला ३ हजार ६ सय २३ र पुरुष ३ हजार ३ सय ७७ छन् । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६ हजार ७ सय ७९ मतदाता थिए । यसअघिको तुलनामा यसपटक २ सय २१ मतदाता थपिएका हुन् ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully