गोरखाका दुवै क्षेत्रमा प्रलोपाले कांग्रेस उम्मेदवारलाई सघाउने

दुई पार्टीबीच भएको छलफलबाट मौखिक रूपमा प्रत्यक्षतर्फ कांग्रेस उम्मेदवारलाई सघाउने गरी अघि बढेको प्रलोपाका जिल्ला अध्यक्ष नारायण खत्रीले बताए ।

फाल्गुन १६, २०८२

हरिराम उप्रेती

Pralopa will support the Congress candidate in both Gorkha constituencies.

गोरखा — बाबुराम भट्टराई निकटको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले गोरखाका दुवै क्षेत्रमा कांग्रेस उम्मेदवारलाई सघाउने भएको छ । दुई पार्टीबीच विभिन्न चरणमा भएको छलफलबाट कांग्रेस उम्मेदवारलाई सघाउने गरी पार्टी अघि बढेको प्रलोपाका जिल्ला अध्यक्ष नारायण खत्रीले बताए । 

‘पार्टीको बैठकबाट निर्णय भएको त होइन, तर दुवै क्षेत्रमा हाम्रो प्रत्यक्षतर्फ उम्मेदवार नभएको अवस्थामा विभिन्न पार्टीसँग छलफलमा थियौं,’ उनले भने, ‘दुई पार्टीबीच भएको छलफलबाट मौखिक रूपमा प्रत्यक्षतर्फ कांग्रेस उम्मेदवारलाई सघाउने गरेर अघि बढेका छौं ।’ 

समानुपातिकतर्फ भने आफ्नै दललाई मतदान गर्नेे उनले बताए । प्रलोपाबाट गोरखा–१ मा गोपालबाबु श्रेष्ठ र गोरखा–२ मा बाबुराम भट्टराईले उम्मेदवारी दिएर फिर्ता लिएका थिए ।

२०७४ सालको निर्वाचनमा पनि तत्कालीन नयाँ शक्ति पार्टीले गोरखामा कांग्रेससँग चुनावी तालमेल गरेको थियो । ‘२०७४ सालमा पनि कांग्रेससँग सहकार्य भएको थियो, अहिले पनि मोटामोटी रूपमा हामीले सहयोग गर्ने ठाउँमा उभिएका छौं,’ प्रलोपाका जिल्ला इन्चार्ज यानप्रसाद भट्टले भने, ‘हाम्रा उम्मेदवार नभएको अवस्थामा प्रत्यक्षतर्फ अहिलेको परिस्थितिमा कांग्रेस उम्मेदवार उपयुक्त हुने देखेर छलफल सकारात्मक तवरले अघि बढाएका हौं ।’

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully