मतदान केन्द्रलाई महिलामैत्री बनाउन २ वटा केन्द्रमा कर्मचारीदेखि प्रहरीसम्म महिला खटाइयो
What you should know
लमजुङ — फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लमजुङको २ वटा मतदान केन्द्रमा कर्मचारीदेखि प्रहरीसम्म महिला खटाइएको छ । सदरमुकाम रहेको बेंसीसहर नगरपालिका ७, बेंसीसहर बजारको जनविकास मावि (क) र (ख) केन्द्र दुवैमा महिला कर्मचारी र प्रहरी खटाइएको हो ।
जनविकास (क) मा ५ सय ८८ र (ख) मा ६ सय ३७ मतदाता छन् । मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार (क) केन्द्रमा एकीकृत सेवा कार्यालय प्रमुख मीताकुमारी थापा र (ख) केन्द्रमा मध्यनेपाल नगरपालिकाकी अधिकृत मञ्जु थापा मगरलाई मतदान अधिकृतमा खटाइएको छ ।
केन्द्र (क) मा सहायक मतदान अधिकृत भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयकी मेलिना खड्का, सहायक कर्मचारीमा सीता थापा पन्थी, शान्ति गुरुङ, लक्ष्मी रिमाल र सहयोगी कर्मचारीमा योचिनी गुरुङ रहेका छन् ।
केन्द्र (ख) मा सहायक मतदान अधिकृतमा मर्स्याङ्दी गाउँपालिकाकी चन्द्रकुमारी गुरुङ, सहायक कर्मचारीमा सरिता थारु, बविता विश्वकर्मा, राधा ज्ञवाली र सहयोगी कर्मचारीमा शिलाकुमारी श्रेष्ठ छन् । मतदान अधिकृतले ३ जना सहयोगी कर्मचारी नियुक्त गर्न पाउने र ती कर्मचारी पनि महिला नै रहने सहायक निर्वाचन अधिकृत रामबन्धु गौतमले जानकारी दिए । मुख्य निर्वाचन अधिकृत ढकालले मतदान केन्द्रलाई महिलामैत्री बनाउन २ वटा केन्द्रमा कर्मचारीदेखि प्रहरीसम्म महिला खटाइएको बताए ।
जिल्ला प्रहरी प्रमुख डीएसपी जितेन्द्रकुमार श्रेष्ठका अनुसार एउटै मतदानस्थल भएको जनविकास माविमा ४ जना नेपाल प्रहरी र ४ जना निर्वाचन प्रहरी गरी नेपाल प्रहरीका तर्फबाट १० जना प्रहरी हुनेछन् । प्रहरी सहायक निरीक्षक परमेश्वरी नेपालीको नेतृत्वमा सबै प्रहरी महिला नै राखिएको उनले बताए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एउटा अस्थायीसहित १ सय ३० मतदान स्थलमा १९३ मतदान मतदान केन्द्र छन् । यसमा १ हजार १ सय ५० जना कर्मचारी खटिनेछन् । हरेक मतदान केन्द्रमा २ देखि ३ जनासम्म स्वयम्सेवक खटिनेछन् । हरेक मतदान केन्द्रमा ६ जनाका दरले कर्मचारी खटिने र ३ सय भन्दा कम मतदाता रहेको मतदान केन्द्रमा एक जना सहयाक कर्मचारी कटौती भएर ५ जना कर्मचारी खटिनेछन् । लमजुङमा ३ सय भन्दा कम मतदाना रहेको मतदान केन्द्र ५ वटा छन् ।
लमजुङमा निजामती कर्मचारी र नेपाल सरकार मातहातको संस्थानका कर्मचारीलाई मतदान अधिकृत र सहयाक मतदान अधिकृतमा राखिएका छन् । प्राथामिक तहका केही शिक्षकहरूलाई अन्य कर्मचारीमा राखिएका छन् । लमजुङमा ११ राजनीतिक दल र एक जना स्वतन्त्र गरी १२ जना उम्मेदवार छन् ।
कुल १ लाख ३७ हजार १ सय २४ जना मतदाता रहेको लमजुङमा महिला ६९ हजार ५ सय २४ र पुरुष ६७ हजार ६ सय छन् । पुरुषभन्दा महिला मतदाताको संख्या १ हजार ९ सय २४ ले बढी छ । २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यसपटक मतदाता संख्या ३ हजार ४ सय ७ जनाले बढेको छ । यसअघिको निर्वाचनमा १ लाख ३३ हजार ७ सय १७ जना मतदाता थिए ।
