कास्की–२ मा स्वतन्त्र उम्मेदवार पौडेलद्वारा उम्मेदवारी फिर्ता, कांग्रेसलाई समर्थन

उनले सोमबार प्रेस विज्ञप्तिमार्फत लोकतन्त्रको रक्षा, सकारात्मक परिवर्तन र दीर्घकालीन स्थायित्वका लागि नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेको बताएका हुन् ।

फाल्गुन १२, २०८२

दीपक परियार

Independent candidate Poudel withdraws candidacy in Kaski-2, supports Congress

What you should know

पोखरा — कास्की निर्वाचन क्षेत्र नम्बर २ का स्वतन्त्र जेन-जी उम्मेदवार निर्दोषविक्रम पौडेलले आफ्नो उम्मेदवारी फिर्ता लिँदै कांग्रेसका माधवप्रसाद बास्तोलालाई समर्थन गर्ने घोषणा गरेका छन् ।

उनले सोमबार प्रेस विज्ञप्तिमार्फत लोकतन्त्रको रक्षा, सकारात्मक परिवर्तन र दीर्घकालीन स्थायित्वका लागि नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेको बताएका हुन् ।

उनले आफ्नो राजनीतिक यात्रा पद, सत्ता वा सौदाबाजीका लागि नभई पुस्तान्तरण, युवाको आत्मसम्मान, अवसर र सुरक्षित भविष्यको खोजीका लागि सुरु भएको उल्लेख गरेका छन् । वर्तमान राजनीतिक परिस्थिति, कांग्रेसको स्पष्ट दृष्टिकोण, उम्मेदवार बास्तोलाको निष्ठा, इमानदारी र युवामैत्री सोचका कारण समर्थन गर्ने निर्णयमा पुगेको उनले जनाएका छन् ।

पौडेलले विज्ञप्तिमा भनेका छन्, ‘आज उम्मेदवारी फिर्ता लिएको छु तर आवाज फिर्ता लिएको छैन । आज सहयोग गरेको छु तर प्रश्न सोध्ने अधिकार गुमाएको छैन ।’

उनले आफ्नो निर्णय आत्मसमर्पण नभई सर्तसहितको सहयोग भएको स्पष्ट पारेका छन् । ‘यदि जनताको आवाज सुनिएन, युवाको भरोसामाथि खेलवाड भयो, भ्रष्टाचार, दमन र सत्ता मोह हाबी भयो भने म फेरि पनि कलमबाट, आवाजबाट र सडकबाट खबरदारी गर्न कहिल्यै पछि हट्नेछैन,' उनले बताए । 

पौडेलले अब कास्की–२ को भविष्यलाई युवाको नेतृत्वसँग जोड्ने अभियानमा लाग्ने उल्लेख गर्दै मतदातालाई कांग्रेसको रुख चिन्हमा मतदान गरी बास्तोलालाई विजयी गराउन अपिल गरेका छन् । 'यो विजय कुनै एक व्यक्तिको होइन, यो विजय युवाको हुनेछ, भविष्यको हुनेछ,' उनले भनेका छन् ।

Independent candidate Poudel withdraws candidacy in Kaski-2, supports Congress

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully