कोदोको मदिरा उत्पादन र ब्रान्डिङमा विहादी गाउँपालिका

कोदोको रक्सी उत्पादन गर्न इच्छुक व्यक्तिलाई सम्पर्कमा आउन आग्रह गर्दै गाउँपालिकाले सूचना प्रकाशित गरेको छ ।

फाल्गुन ७, २०८२

सुमनजंग थापा

Bihadi Rural Municipality in the production and branding of millet alcohol

पर्वत — विहादी गाउँपालिकाले कोदोबाट उत्पादित मदिरालाई व्यवस्थित रूपमा उत्पादन तथा ब्रान्डिङ गर्ने तयारी थालेको छ ।

कोदोको रक्सी उत्पादन गर्न इच्छुक व्यक्तिलाई सम्पर्कमा आउन आग्रह गर्दै गाउँपालिकाले सूचना प्रकाशित गरेको छ ।

गाउँपालिकाका अध्यक्ष परविन गुरुङका अनुसार कोदोको मदिरा उत्पादनसम्बन्धी आधुनिक प्रविधि हस्तान्तरणदेखि सीप विकास तालिमसम्म उपलब्ध गराइनेछ । ‘रक्सीको ब्रान्डिङ, प्याकेजिङ र बजारीकरणमा पालिकाको प्राविधिक सहयोग रहनेछ,’ उनले भने, ‘उद्यम गर्न चाहने व्यक्तिका लागि दर्ता प्रमाणपत्र तथा इजाजतपत्र सम्बन्धी प्रक्रियामा हामीले सहजीकरण गर्नेछौं ।’

गाउँपालिकाले ‘स्थानीय मदिरा (अन्नबाली तथा फलफूलबाट) उत्पादन, ब्रान्डिङ तथा बिक्री–वितरण व्यवस्थापन ऐन, २०८२’ तथा ‘मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि, २०८२’ अन्तर्गत रहेर कोदोको रक्सी उत्पादन र ब्रान्डिङ प्रक्रिया अघि बढाएको अध्यक्ष गुरुङले बताए ।

उनका अनुसार कोदो मात्र नभई गाउँपालिकाभित्र उपलब्ध अन्य स्थानीय कच्चा पदार्थको समेत सदुपयोग गरिनेछ । ‘गाउँलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित घरेलु मदिरालाई कानुनी मान्यता दिई स्थानीय आयआर्जनको बलियो स्रोत बनाउनेतर्फ हामी अघि बढेका छौं,’ उनले भने । गाउँपालिकाले प्रकाशित गरेको सूचनामा गाउँपालिकाभित्रका १८ वर्ष पूरा भएका इच्छुक नागरिकलाई फागुन २० गतेसम्म आवेदन दिन अनुरोध गरिएको छ । 

यस पहललाई प्रदेशस्तरको कानुनी आधार पनि प्राप्त भएको छ । गण्डकी प्रदेशमा ‘घरेलु मदिराको उत्पादन नियमन तथा व्यवस्थापन ऐन, २०८२’ पारित भई कार्यान्वयनमा आइसकेको छ । उक्त ऐनले परम्परागत रूपमा उत्पादन हुँदै आएको घरेलु मदिरालाई नियमन, दर्ता, गुणस्तर नियन्त्रण तथा कर प्रणालीभित्र ल्याउने उद्देश्य राखेको छ ।

सुमनजंग थापा सुमन कान्तिपुरका पर्वत संवाददाता हुन् । उनी समसामयिक विषयमा समाचार लेख्ने गर्छन् ।

Link copied successfully